विप्लव काफ्ले
शुक्रवार, कार्तिक १६, २०७५
438

भरतपुर अस्पतालले पर्याप्त बजेट नहुँदा अत्यावश्यक उपकरण खरिद तथा सेवा विस्तारमा समस्या भएको जनाएको छ । तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. कृष्णप्रसाद पौडेल अस्पताल अप्ठ्यारोमा परेको बताए । “केन्द्र वा प्रदेश कुन सरकार मातहत अस्पताल रहने भन्ने अझै टुंगो लागेको छैन,” उनले भने, “तलब भत्तालाई चाहिने बजेट समेत अपुग आएको छ, अन्य विकास पूर्वाधार गर्न कुनै बजेट परेको छैन ।”
प्रदेश मातहतमा जिल्ला बाहिरका सरकारी अस्पताल रहने घोषणा भएपनि पछि भरतपुर अस्पताल ठूलो देखिएकाले केन्द्र सरकारकै मातहतमा राख्ने तयारी सरकारले गरेको छ । “सुरुमा प्रदेश सरकार मातहतमा रहने चर्चा भएपछि सोही अनुसारको बजेट तथा कार्यक्रम माग ग¥र्याैँ”, उनले भने, “आर्थिक वर्षको चार महिना वित्यो, उपकरण खरिद, मर्मत सम्भार लगायतका कुनै योजनानै पर्न सकेका छैनन् ।” उनले अस्पताल ‘पेण्डुलम’ जस्तो बनेको दुखेसो सुनाए । प्रदेश सरकारले आमा सुरक्षा कार्यक्रम र पोषण कार्यक्रममा जम्मा १० लाख मात्रै अस्पताललाई दिएको छ । केन्द्र सरकारले यो वर्ष करिव ५ करोड मात्रै निकासा गरेको छ । यही साउनमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले टर्सरी (केन्द्रीय) अस्पतालका रुपमा विकास गरिने घोषणा गरेका थिए । सुविधा सम्पन्न बनाउन आवश्यक पर्ने जग्गा खोजी गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए ।

“पुरानो जेनेरटेरले लाइन जादा धान्न सकेको छैन, अप्रेशननै रोकिनुपर्ने अवस्था आउने जोखिम छ”, उनले भने, “जेनेरेटर खरिद गर्न केन्द्र र प्रदेश सरकारसँग माग गरिहेका छौँ, कसले दिने टुंगो लागेको छैन ।” पुरानो एक्सरे मेसिन मर्मत गर्न करिव २२ लाख लाग्ने देखिएको छ । लागत मूल्यको २५ प्रतिशत बढी खर्च मर्मतमा लाग्ने भएमा नयाँनै खरिद गर्नुपर्ने प्रावधानले गर्दा मर्मत हुन सकेको छैन । अस्पतालमा प्रयाप्त पानीको पहुँच बनाउन ओभरहेड ट्यांकी तत्काल आवश्यक देखिएको छ । नाक कान घाँटी सम्बन्धि उपचार गर्ने इएनटी विभागमा ‘डिभाइडर माक्रोस्कोप’ खरिद गर्न ४० लाख आवश्यक देखिएपनि बजेट नहुदा काम अघि बढ्न नसकेको बताए । “सेवालाई विष्टिकृत गर्न प्रयाप्त बजेट आवश्यक पर्छ”, डा. पौडेलले भने, “तर, हालसम्म टर्सरी अस्पताल बनाउने निर्णय हुन सकेको छैन, जसले केन्द्रबाट बजेट परेको छैन ।” राप्ती दुन परियोजना अन्र्तगत २०१४ सालमा भरतपुर अस्पतालको स्थापना गरिएको थियो । अस्पताललाई २०६६ सालमा नेपाल सरकारले ३ सय शैयाको बनाएको थियो । विकास समितिबाट ३ सय शैया सञ्चालनमा छ ।
मेसु पौडेलले १० बुँदे प्रतिवद्धता कार्यान्वयनमा सक्रिय हुने बताए । स्तरीय सुविधा, शैक्षिक कार्यक्रम विस्तार गर्दै प्रतिष्ठानका रुपमा विकास गर्ने, मदन भण्डारी ट्रमा सेन्टरका कार्यक्रम सञ्चालन गर्ने, छिटोछरितो सेवा प्रदान, एमआरएफ स्क्यान सेवा र किड्नी प्लाण्ट सेवा सञ्चालन, इर्मरजेन्सीमा तुरुन्तै विशेषज्ञ डाक्टरको व्यवस्था लगायतका काममा अग्रसर हुने बताएका छन् ।
‘शव थुपार्ने केन्द्र नबनोस्’
छिमेकी जिल्लाबाट पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा शव ल्याउने परम्परा हटेको छैन । हटौडा, परासी, बुटबलमा ठूला अस्पताल सञ्चालनमा आए पनि दुर्घटनाका ज्यान गुमाएकाको शव, वेवारिसे शव भरतपुर अस्पताल ल्याउने गरिन्छ । “शव जतासुकैबाट भरतपुर अस्पतालनै ल्याउने परम्परामा ‘ब्रेक’ लगाउन जरुरी छ”, उनले भने, “छिमेकी जिल्लाका अस्पतालमा पनि शवगृह बनाउनुप¥यो, जुन जिल्लाको हो, त्यही जिल्लामा पोष्टमार्टम भए मुद्धामामिलामा पनि सहज हुन्छ ।” उनले नजिकका मेडीकल कलेज, जिल्लाभित्रका अन्य सरकारी अस्पतालमा समेत पोष्टमार्टमको व्यवस्था मिलाउन आवश्यक देखिएको बताए ।
मासिक बुलेटिनको सुरुवात
भरतपुर अस्पतालले मासिक बुलेटिन सुरुवात गरेको छ । भरतपुर अस्पतालका गतिविधि, योजना र सेवाबारे समेटेर अस्पतालले कार्तिक महिनादेखि हरेक महिना बुलेटिन प्रकाशन गर्न थालेको छ । बिहीबार मासिक बुलेटिनको विमोचन गरिएको छ ।” मेसु पौडेल, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष प्रकाश खतिवडा, पूर्व मेसु रुद्र मरासीनी, निमित्त मेट्रोन रमिला विष्ट, पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य आनन्द पोखरेलले संयुक्त रुपमा विमोचन गरेका थिए ।“भरतपुर मेडीकल सिटीका रुपमा विकसित हुदैछ”, मेसु डा. कृष्णप्रसाद पौडेलले भने, “सेवाग्राहीलाई सूचित गर्न बुलेटिन प्रकाशनको थालनी गरेका छौँ ।