लक्ष्मी सापकोटा
बिहिवार, आश्विन २५, २०७५
393

डा. दिनेश गौतम
कार्यकारी निर्देशक

प्रोबाइटिक इन्डस्ट्रिज
नेपालमा खासगरी विभिन्न चारवटा ब्रान्डका खाने तेलको प्रयोग हुने गर्छ, जसमा सूर्यमुखी, भटमास, तोरीको तेल र पामआयल छन् । मुलुकमा मात्र नभएर विश्वमा नै यी ब्रान्डको तेलको प्रयोग बढी हुने गर्छ । जुन देशमा जुन तेलको उत्पादन हुन्छ त्यही नै बढी खपत हुने गर्छ ।
उपभोक्ताले बढी प्रयोग गर्ने भनेको सूर्यमुखी तेल हो । मासुजन्य परिकार बनाउनका लागि तोरीको तेल उपयुक्त हुने गर्छ । यस्तै लामो समयसम्म राख्नका लागि पाम आयल तेल प्रयोग हुने गर्छ । होटल–रेस्टुराँमा फ्राई गर्नका लागि पाम आयल नै बढी प्रयोग हुने गर्छ । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष साढे १४ किलो तेल खपत हुने गर्छ । सामान्यतया प्रतिव्यक्तिलाई प्रतिवर्ष १२ देखि १४ किलो किलो तेल आवश्यक पर्ने गर्छ ।
तर, मुलुकमा आवश्यकताभन्दा पनि बढी तेलको खपत भइरहेको छ । पछिल्लो समय उपभोक्ताले फाई गरेको परिकार खाने, जंग फुडका परिकार उपभोग गर्ने भएकाले पनि तेलको प्रयोग धेरै हुने गर्छ ।
एक तथ्याङ्कअनुसार सबैभन्दा धेरै अमेरिकामा प्रतिव्यक्ति प्रतिवर्ष ३४ किलो, मलेसियामा ३२ किलो, अर्जेन्टिनामा २७ किलो, चाइनामा २५ किलो र भारतमा १९ किलो तेल खपत हुने गर्छ । तेलको खपतको वृद्धिदरमा चाइना र भारत अग्रस्थानमा रहेका छन् ।
नेपालमा तेलको उपलव्धता २.७ किलो छ । नेपालमा तेलहन बालीको उत्पादन कम हुँदा बाहिरी मुलुकबाट आयात गर्नुपरेको छ । मुलुकमा १८ प्रतिशत तेलमात्र उत्पादन हुने गर्छ । बाँकी ८२ प्रतिशत तेल बाहिरी मुलुकबाट आयात हुने गर्छ । सरकारी तथ्याङ्कअनुसार मुलुकमा वार्षिक रुपमा ७५ हजार टन तेल उत्पादन हुन्छ भने ३ लाख ३६ टन बाहिरबाट आयात भएको छ ।
अर्जेन्टिना, बाज्रिल, युक्रेन, क्यानडा, अस्ट्रेलिया, मलेसिया, इन्डोनेसियालगायतका अन्य देशबाट तेल आयात हुने गर्छ । स्वविन, सनफलावर पामआयलको क्रुड आयल आयात हुने गर्छ । तोरीको दाना आयात भई नेपालमा प्रशोधन गरेर बजारमा वितरण हुने गर्छ । बाहिरी देशबाट कच्चा पदार्थ आयात गरेर उद्योगीले नेपालमा प्रशोधन गरेर बजारमा तेल पठाउने गर्छ ।
नेपालमा आयातित तेलको ४० प्रतिशत स्वयाबिनको तेलको तेल आयात हुनेछ । उद्योगीले बाहिरबाट कच्चा पदार्थ ल्याएर नेपालमा प्रशोधन गरेर बजारमा वितरण गर्ने गर्छन् । सामान्यतया सवै भन्दा बढी सूर्यमुखी तेलको प्रयोग हुने गर्छ । खानाका परिकारमा कम तेल प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक हुने गर्छ ।
एक चोटी प्रयोग गरेको तेल पुन प्रयोग गर्न हुँदैन । सबैभन्दा छिटो बिग्रने भनेको तेल हो । हावा र पानीको संसर्गमा आउने हुँदा तेल छिटो बिग्रने गर्छ । मासु पकाउँदा, अन्य खाने कुरा पकाएको तेल लामो समय राख्नु हुँदैन । किनकि पुन प्रयोग गर्दा त्यसमा कोलस्ट्रोलको मात्रा धेरै हुने हुँदा स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गर्छ । मासु पकाउनका लागि तोरीको तेल बढी प्रयोग हुने गर्छ । किनकि त्यसमा सुगन्ध आउने गर्छ । नेचुरल स्वादका लागि तोरीकै तेल उपयुक्त हुने गर्छ । फ्राई परिकार बनाउनका लागि पाम आयलको प्रयोग गर्ने गरिन्छ । खानको परिकारमा कम तेल प्रयोग गर्न स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । धेरै तेलको प्रयोगले स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्छ ।
उपभोक्ताले खरिद गर्दा तेलको उत्पादन र उपभोग्य म्याद हेर्नुपर्छ । सामान्यतया तेलको उपभोग्य समय भनेको रिफाइनरी गरेपछि ९ महिनादेखि एक वर्ष हुने गर्छ । तेलमा अन्य तेल मिसावट भएको छ कि छैन भनेर पनि हेर्न सकिन्छ । यस्तै उपभोक्ताले गुणस्तर चिह्न भएको तेल हेर्दा गुणस्तरयुक्त हुन्छ । जुन सरकारले निर्धारण गरेको मापदण्डअनुरुप हुने गर्छ । शुद्ध तोरीको तेलमा गन्ध आउने गर्छ, जसले गर्दा पनि छुटाउन सहज हुन्छ । तोरीको तेल छिटो बिग्रने हुन्छ । तोरीको तेलको ६ महिनादेखि एक वर्ष सम्म मात्र उपभोग्य म्याद रहेको छ । राम्रो प्याक गरेर राखिएको तेल छिटो बिग्रन सक्छ । तोरीको तेलमा एसिड भ्यालको मात्रा ६ हुनुपर्छ । अन्य तेलमा एसिडको भ्यालु ०.५ हुनुपर्छ ।
तेलमा पनि धेरै पारामिटर हुन्छ । साधारणतया लामो समयसम्म राखेको तेल उपभोग गर्दा स्वास्थ्यलाई हानिकारक हुने गर्छ । स्वास्थ्यमा पखाला लाग्ने, लामो समय सम्म प्रयोग गरेपछि मुटुसम्बन्धी समस्या देखिने गर्छ । कमसल तेलको प्रयोगले पाचन शक्तिमा समेत समस्या आउने देखिन्छ । एसिड भ्यालु ६ भन्दा माथि भएको तेल उपभोग गर्दा पाचनमा समस्या हुने गर्छ । एसिड भ्यालु, कोल्डस्टोल भ्यालु भएको तेलले स्वास्थ्यलाई प्रत्यक्ष असर पर्छ । गुणस्तर चिह्न भएको तेल, उत्पादन विधि र प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हुनुपर्छ । अहिले हामीले चाहिने भन्दा बढी तेल खाएका छौं, जसले गर्दा पनि स्वास्थ्यलाई असर पर्न सक्छ । धेरैभन्दा पनि कम तेल खाने र स्वस्थ तेल उपभोग गर्नुपर्छ ।