कारोबार संवाददाता
आइतवार, भदौ २४, २०७५
743

पोखरा - गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेशको रुपमा घोषणा गरिएको छ । गण्डकी देशकै पहिलो पूर्ण खोप सुनिश्चित प्रदेश भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै स्थानिय तहका १६ महिनादेखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुको राष्ट्रिय खोप तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोपहरु पाइसकेको सुनिश्चित गर्दै गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन् । गण्डकी प्रदेशमा रहेका ३५ हजार ८ सय ४२ जना १६ देखि २३ महिनाका बालबालिकालाई खोपको मात्रा पूरा गरेसँगै यस प्रदेशलाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो ।
एकजना बच्चालाई पूर्णखोप सेवा प्रदान गर्न करिब ३० हजार खर्च लाग्ने बताइन्छ । गण्डकी प्रदेशमा एक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, १७ वटा सरकारी अस्पताल, २५ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४ सय ८७ वटा स्वास्थ्य चौकी, ६२ वटा शहरी स्वास्थ्य केन्द्र र ८२ वटा सामुदायिक स्वास्थ्य ईकाई छन् । गण्डकी प्रदेशमा १ हजार ७ सय ७० वटा खोप केन्द्र तथा १ हजार ४ सय १६ वटा गाँउघर क्लिनिक रहेका छन् । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार गण्डकी प्रदेशमा करिब २४ लाख ३ हजार ७ सय ५७ जना बसोबास गर्छन् ।