कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५
331

दार्चुला जिल्लाबाट एक वर्षको अवधिमा रोजगारीका लागि झण्डै हजार युवाहरु बाहिरीने गरेको तथ्यांकले देखाएको छ । २०७४ साउन १ देखि २०७५ असार ३२ गते सम्मको जिल्लाबाट राहदानी बनाउनेको संख्या ९ सय ५५ जना रहेको छ । यसमध्ये द्रुत सेवाबाट राहदानी बनाउनेमा पुरुष ७ सय १ जना र महिला ५६ जना गरी ७ सय ७५ जना छन् । जिल्लाबाटै राहदनी बनाउनेमा पुरुष १ सय ८२ जना र महिला १६ जना गरी १ सय ९८ जना रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ ।
राहदानी बनउनेको संख्या हेर्दा बढीजसो वैदेशिक रोजगारीका लागि जाने गरेको र त्यसबाहेक बाहिर पढ्न जाने, तथा घुमघाम गर्ने प्रयोजनले पनि केही राहदानी बन्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राहदानीबापत एक वर्षमा दार्चुलामा नौ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।
राहदानी जिल्ला प्रशासन, इलाका प्रशासन र सीमा प्रशासन कार्यालयबाट उपलब्ध गराउन सकिने व्यवस्था भए पनि अहिले जिल्ला प्रशासन कार्यालयबाट मात्रै उपलब्ध गराउँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।