कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
511

नुवाकोटबाट वैदेशिक रोजगारीमा जानेको संख्या ४३ हजार ९४४ जना रहेको पाइएको छ ।
वि.सं २०६८ सालको जनगणनाअनुसार नुवाकोटमा दुई लाख ७७ हजार ४२१ जनसंख्या रहेकोमा करिब ४४ हजार युवा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन (सामी परियोजना) नुवाकोटले सार्वजनिक गरेको तथ्यांले देखाएको हो । श्रम स्वीकृति आवश्यक नपर्ने हुँदा भारत र चीनको केरुङमा गएर काम गर्नेको संख्या पाँच हजारभन्दा बढी हुनसक्ने परियोजनाको अनुमान छ ।

जिल्लाबाट वैदेशिक रोजगारीमा गएका पुरुषको संख्या ३८ हजार ५१७ र महिलाको संख्या पाँच हजार ४२७ जना रहेको परियोजनाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । वैदेशिक रोजगारीमा जाने युवालाई सूचना तथा परामर्श दिन वि.सं २०७२ असारदेखि सञ्चालनमा रहेको कार्यक्रममार्फत दैनिक जिल्लाबाट राहदानी बनाउनेको संख्या ३० देखि ३५ जनासम्म हुने र त्यसमध्ये आधा व्यक्ति श्रम स्वीकृत लिएर विदेशमा श्रम गर्न जाने गरेको सामी परियोजनाका जिल्ला संयोजक निरु सुचिकारले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयमा परामर्श डेस्क स्थापना गरी परियोजनाले पछिल्लो तीन वर्षमा १९ हजार ८०५ जनालाई सुरक्षित वैदेशिक रोजगारका लागि परामर्श दिएको सुचिकारले बताइन् । उनका अनुसार मुलुकभरका ७७ जिल्लामध्ये वैदेशिक रोजगारमा श्रम अनुमति लिएर वैदेशिक रोजगारीमा जाने संख्यामा नुवाकोट जिल्ला सातौं स्थानमा पर्दछ ।
वैदेशिक रोजगारमा जानुपूर्व विदेश जाने प्रक्रियाको जानकारी, आफूले गर्न चाहेको सीपसम्बन्धी तालिम, सम्बन्धित देशको भाषा बुझ्न सक्ने भएर गएमा सेवा र सुविधा राम्रो पाइने परियोजनाको सुझाव छ ।