कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५
357

म्याग्दी - विकास निर्मााण योजना सम्पन्न भएपछि नेता, समन्वयकर्ता र चन्दादातालाई सम्मान गरिने प्रचलन नौलो होइन । कहीँकतै सरकारी कर्मचारीहरुलाई समेत सम्मान गरिँदै आइएको छ । तर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर हुँदै काउँलेगौंडा र पात्लेखेतसम्मको सडक स्तरोन्नति योजनामा भने उपभोक्ता समितिले आयोजनामा खटिएका श्रमिकलाई सम्मान गरेका छन् ।
बेनी नगरपालिकाबाट १९ लाख ३० हजार बजेट विनियोजन र ३ लाख ६४ हजार रुपैयाँ बराबरको जनश्रमदान गरि सडक स्तरोन्नति गरिएको उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । सडक स्तरोन्नति योजनालाई गुणस्तरीय, लक्ष्यअगावै सम्पन्न गर्नका लागि काम गर्ने श्रमिकहरुको मेहनतको कदर गर्दै सम्मान गरिएको अध्यक्ष बानियाँले बताए । उनका अनुसार योजनामा परिचालन भएको डोजर चालक, डोजर सञ्चालकसहित २५ जना श्रमिकहरुलाई सम्मान गरिएको हो ।

२०७५ पुस १५ गतेबाट स्तरोन्नति काम सुरु भएको गलेश्वर, काउँलेगौडा र पात्लेखेत सम्मको सडक फराकिलो, घुम्ती सुधार, ढलान, नाली निर्माण लगायतको काम गरिएको थियो ।
२०७६ साल वैशाख मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने योजना दुई महिनाअघि नै सम्पन्न भएको छ । समाजका युवाहरुको सक्रियता र समुदायको सहजताले योजना लक्ष्यअघि नै सम्पन्न भएको अध्यक्ष बानियाँले जानकारी दिए ।
श्रमिकहरुको सम्मानका लागि बेनी नगरपालिका–९ का वडासदस्य अम्मर बस्नेत, केवाईसी युवा क्लवका अध्यक्ष चिरञ्जीवी सुवेदी र अनुगमन समिति र समाजसेवीहरुको उपस्थितमा श्रमिकलाई सम्मानपत्र र खादाले सम्मान गरिएको थियो ।