कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५
441

ग्रिल तथा स्टील व्यवसायी महासंघले तालिम केन्द्रको स्थापना गर्न सरकारसँग जग्गा माग गरेको छ । ग्रिल तथा स्टील व्यवसायको विकास, विस्तार तथा वेरोजगार युवालाई दक्ष बनाई स्वदेशमै रोजगारी बढाउन महासंघले तालिम केन्द्र स्थापनका लागि जग्गा माग गरेको हो । महासंघले सरकारले जग्गा उपलव्ध गराएमा सम्पूर्ण पूर्वाधार आफैंले खडा गर्ने जनाएको छ ।
महासंघको २४ औं बार्षिक साधारणसभामा अध्यक्ष मोहन कटुवालले महानगरपालिकाभित्र विना दर्ता सञ्चालित सम्पूर्ण अवैध ग्रिल तथा स्टील व्यवसायलाई सजह किसिमले कानुनी दायरमा ल्याइ वैध बनाउन आग्रह गरे । उनले देशमा वेराजगारी बढ्दै गएकाले व्यवसायमैत्री र उद्यम गर्ने खालको वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराए । “१ लाख ६० हजार दक्ष र अर्धदक्ष युवालाई रोजगारी दिँदै ४५ अर्बभन्दा बढीको कारोबार बार्षिक रूपमा भएको छ,” उनले भने, “रोजगारी सिर्जना गर्नमा ग्रिल तथा स्टील व्यवसायको ठूलो योगदान छ, सरकारले जग्गा दिएमा हामी युवालाई थप तालिमप्राप्त बनाएर शीपसहित व्यवसायमा लगाउन चाहन्छौं ।” अहिलेको थप २० हजार जनशक्ति ग्रिल तथा स्टील व्यवसायमा आवश्यक छ ।
त्यसैगरी महानगरपालिकाको विकास निर्माण कार्यमा सम्पूर्ण वैध ग्रिल तथा स्टील व्यवसायीहरूलाई सहभागिता गराउन पनि महासंघले आग्रह गरेको छ । स्थानीय सरकारका विभिन्न निकायमा व्यवसाय दर्ता र नवीकरण गर्ने कार्यमा असहयोग भएकोप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।