गोपाल संग्रौला
मंगलबार, माघ ८, २०७५
427

भिसा आएर पनि जान नपाएकाको तथ्यांक संकलन गरिँदै


सरकारले लामो समयदेखि रोकिएको मलेसियाको रोजगार प्रक्रिया आंशिक रूपमा खुला गर्ने भएको छ । भिसा आएर पनि प्रवेश गर्न नपाएका नेपाली कामदारलाई ९ महिनापछि पठाउने प्रक्रिया सुरु गरेर मलेसियाको रोजगारी खुला गर्ने भएको हो ।

मलेसिया सरकारले भिसा लागेर आफ्नो देश प्रवेश गर्न नपाएका कामदारलाई पठाउन नेपाल सरकारसँग अनुरोध गरेपछि मलेसियाको रोजगारी क्रमस खुला गर्ने सरकारी तयारी रहेकोे छ । बिगत लामो समयदेखि रोकिएको मलेसिया कामदार जाने प्रक्रिया दुई देशको कुटनितिक सम्बादपछि खुल्ने भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
नेपाल र मलेसिया सरकारबीच असोज १२ भएको श्रम सम्झौता भए पनि नेपाली कामदारहरू मलेसिया जाने प्रक्रिया सुरु भएको थिएन । सम्झौतामा शून्य लागतमा जानेगरी व्यवस्था भएको भएपनि नेपाली युवा मलेसिया जान पाएका थिएनन् । वैदेशिक रोजगार विभागले २ देशबीच सम्झौता हुनुपूर्व केही कामदारहरूको कलिङ भिसा प्राप्त भएको जनाउँदै त्यस्ता कामदारहरूको सम्बन्धमा काममा जाने व्यवस्था मिलाउन लागिएको जनाएको छ । “मलेसियाको रोजगारी खुलाउन सम्बन्धित कामदार र रिक्रुटिङ्ग एजेन्सीबाट बारम्बार अनुरोध भएपछि पठाउने प्रक्रिया सुरु गर्न लागिएको हो,” विभागमा महानिर्देशक दिलिप कुमार चापागाईंले कारोबारसँग भने, “यस सम्बन्धमा नेपाल र मलेसिया सरकारबीच श्रम सम्झौता हुनुपूर्व कलिङ भिसा प्राप्त (म्याद बाँकी रहेका) कामदारहरूको तथ्यांक आवश्यक भएकाले नेपालमा रहेका रिक्रुटिङ्स एजेन्सीमार्पmत कलिङ भिसा प्राप्त गर्ने कामदारहरूको विवरण १५ दिनभित्र बुझाउन बिभागले अनुरोध गरेको छ ।” भिसा प्रमाणित भएका कामदारको कम्पनी, भिसा प्राप्त गरेको मिति र म्याद उल्लेख गरी विभागमा निवेदन पेश गर्नु पर्ने उनले बताए ।
के हो कलिङ भिसा ?
कलिङ भिसा भनेको कामदार मलेसिया जान दूतावासले दिएको अग्रिम भिसा प्रक्रिया हो । यस्तो भिसा कामदारलाई मलेसिया प्रवेश गराउनुपूर्व अनुमति प्रदान गरिएको सिफारिस भिसा प्रक्रिया हो । यसरी कलिङ भिसा पाएको तथ्यांक संकलनका लागि विभागले सम्बन्धित मेनपावर कम्पनीसँग संख्या माग गरेको छ । कलिङ भिसा आएकालाई मन्त्रालयले निर्णय गरेर पठाउने जनाएको छ ।