कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
507

इन्छन (कोरिया) - सन् २०१५ मा कोरियाको योङ्गीनमा स्कुटर चलाएको बखत कोरियन प्रहरीले एक नेपालीलाई सामान्य सोधपुछ गरी छोडिदियो । बिना लाइसेन्स कोरियामा स्कुटर हाँकेका धादिङका किरण केसी (नाम परिवर्तन) ले ‘लाइसेन्स बिनै स्कुटर चलाउँदा पनि प्रहरीले आफूलाई कुनै कारबाही र जरिवाना नतिराएको भन्दै मख्ख’ परेका थिए । तर, इन्छन विमानस्थलबाटै नेपाल फर्कनुपर्दा भने छक्क परे ।
उतिबेला नाम र कोरियन परिचयपत्र नम्बर टिपेर लगेको कोरियन प्रहरीले केसीलाई ‘लाइसन्स बिनै स्कुटर हाँकेर ट्राफिक नियम फलो नगरेको’ नोटिस अध्यागमनमा पठाइदिएकोले अध्यागमनले उनलाई कोरिया पुनः प्रवेशमा रोक लगाइदियो । इपिएसमार्फत् सम्पूर्ण प्रक्रिया पूरा गरी पुनः कोरिया आएका उनी अन्ततः इन्छन विमानस्थलबाटै स्वदेश फर्किनुप¥यो ।
उनी त उदाहरणमात्र हुन् । सामान्य देखिने कृयाकलाप फलो नगर्दा पछिल्लो समय धेरै आप्रवासी कामदारहरू विमानस्थलबाटै स्वदेश फर्किनु परेको छ । पहिलो कार्यकाल बस्दा बिना अनुमति समुन्द्रमा फोटो खिचेका, ट्रेनमा फोटो खिचेका, लाइसेन्स बिना सवारी चलाएका, मद्यपान गरी झगडा गरेका, धुम्रपान प्रतिबन्धित ठाउँमा धुम्रपान सेवन गरी प्रहरीले सोधपुछ गरी छोडिदिएका आप्रवासीलाई पुनः प्रवेशमा रोक लगाइएको छ ।
दक्षिण कोरिया आएर स्वदेश फर्किएका र स्वदेशबाट विभिन्न भिषा लगाई पुनः कोरिया प्रवेश गर्न लागेका धैरै विदेशी नागरिकलाई कोरियाको इन्छनमा रहेको विमानस्थल अध्यागमन विभागले स्वदेश फिर्ता गरिदिएको छ ।
विभिन्न अपराध र आतंकवादी हमलामा संलग्न हुनसक्ने अड्कल गरी अध्यागमन विभागले २५ हजार ९८९ जना विदेशीहरूलाई विमानस्थलबाटै फिर्ता पठाएको छ । यो सङ्ख्या २०१७ को अप्रिलदेखि हालसम्मको हो ।
कोरियामा कार्यरत रहँदाको अवस्थामा विभिन्न अपराधमा संलग्न रहेको र फर्जि पासपोर्ट बनाई पुनः कोरिया प्रवेश गर्न खोजेका १३ हजार ३५८ जना, कोरियामा रहँदाको अवस्थामा आप्रवासी नीतिनियमको उल्लंघन गरेको आरोपमा १ हजार ६२१ जना, इन्टरपोलले रेड नोटिस जारी गरेका ९४७ जनालगायतका धेरै विदेशी नागरिकलाई कोरियाको विमानस्थल अध्यागमनले कोरिया प्रवेश गर्न नदिई स्वदेश फर्काइदिएको छ ।
उनीहरू विभिन्न देशबाट कोरियाको भिषा लगाई आएका थिए । जसमध्य उज्बेकिस्तानबाट आएका एक युवक आतङ्कवादी समूह आईएसआईएसमा संलग्न भएको अध्यागमन विभागले जनाएको छ ।
न्याय मन्त्रालयका अनुसार सन् २०१७ को अप्रिलदेखि हालसम्म विदेशी मानिसहरू विमानस्थलबाटै फिर्ता भएका छन् । जसमध्ये हरेक महिना करिब १ हजार ५०६ जना फिर्ता हुने गरेका छन् ।

कोरियामा अवैधानिकलाई अवसर
दक्षिण कोरियामा अवैधानिक हैसियतमा रहेका आप्रवासीहरू तोकिएको समयावधिमा स्वदेश फर्किए पुनः कोरिया प्रवेश गर्न पाउने भएका छन् ।
यहाँको न्याय मन्त्रालयले सन् २०१८ अक्टोबर १ देखि २०१९ मार्च ३१ भित्रमा स्वेच्छिक रुपमा स्वदेश फर्किएमा कुनैपनि बाधाअवरोध पुनः प्रवेश पाउने अवसर खुलाएको छ ।
यदि स्वेच्छिक रुपमा नफर्किए र अध्यागमनले पक्रिएर स्वदेश फिर्ता हुनुपरेको खण्डमा उक्त व्यक्ति १० वर्षसम्म पुनः कोरिया प्रवेश गर्न नपाउने व्यवस्था छ । हत्या, हिंसालगायतका विभिन्न आपराधिक क्रियाकलाप अवैधानिक आप्रवासीबाट हुने जनाउँदै न्याय मन्त्रालयले यस्ता क्रियाकलाप नझाङ्गिओस् भन्नका लागि उक्त अवसर दिएको हो ।

यौन दुव्र्यवहार भएमा सजिलै कार्यस्थान परिवर्तन
दक्षिण कोरियामा रोजगारीका लागि आएका प्रवासी महिलाहरूमाथि कार्यस्थानमा यौन दुव्र्यवहार भएमा सजिलै कार्यस्थान परिवर्तन गर्न पाउने भएका छन् । मानवअधिकार आयोगका अनुसार कोरियाको कृषि क्षेत्रमा कार्यरत आप्रवासी महिला कामदारहरू बढी यौनहिंसामा पर्ने गरेका छन् ।
आप्रवासी महिला कामदारहरू कार्यस्थानमा यौन दुव्र्यवहारको सिकार हुने गरेको बताउँदै कोरियाको मानवअधिकार आयोगले उनीहरूले कार्यस्थान परिवर्तन गर्न पाउनुपर्ने भन्दै श्रम मन्त्रालयमा निवेदन दिएको थियो । उक्त निवेदन स्वीकृत गर्देै श्रम मन्त्रालयले अबदेखि काम गर्ने ठाउँमा महिलामाथि कुनैपनि यौनजन्य दुव्र्यवहार भएमा कम्पनी वा फार्महाउस परिवर्तन गर्न पाउने छन् ।
कोरियामा रोजगारीका लागि आएका करिब ३० प्रतिशत महिला कामदारहरू यौनहिंसामा पर्ने गरेको आयोगको रिपोर्टमा उल्लेख छ । यहाँ करिब ३ लाख २४ हजार आप्रवासी महिला कार्यरत छन् । उनीहरूले कृषि फार्म, रेष्टुरेण्ट र उत्पादनमूलक क्षेत्रमा काम गर्छन् ।
कोरिया आएकामध्ये ५० प्रतिशत आप्रवासी महिलाहरू कृषि क्षेत्रमा (ग्रिनहाउस) काम गर्छन् । उनीहरू कार्यस्थानमै बनाइएको घर (कन्टेनर) मा बस्नुपर्ने र त्यहाँ बढीभन्दा बढी यौनहिंसा हुने आयोगले जनाएको छ । मानवअधिकार आयोगले २०१६ मा गरेको एक सर्वेक्षण अनुसार ग्रिनहाउसमा काम गर्ने र कन्टेनरमा खाने–बस्ने ८७ आप्रवासी महिलामध्ये ५५ जनाले यौन दुव्र्यवहारको सिकार हुनुपरेको बताएका थिए ।
आयोगले श्रममन्त्रीलाई उक्त हिंसाको बारेमा जानकारी गराउँदै आएको थियो । सोही अनुरुप यौनहिंसामा पर्ने आप्रवासी महिला कामदारलाई सजिलै कार्यस्थान परिवर्तन गर्ने वातावरण मिलाइदिन फार्म सञ्चालकहरूलाई अनुरोध गरिएको छ ।

निकुञ्ज तिवारी