गोपाल संग्रौला
मंगलबार, भदौ २६, २०७५
386

सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा बढदै गएको अनियमितता र ठगी नियन्त्रण गर्न भन्दै यस क्षेत्रमा काम गर्ने १० निकायको कार्यसम्पादनलाई नियन्त्रण र अनुगमन गर्नेगरी एकीकृत अनलाइन प्रणाली सुरु गरेको छ ।
युवाले राहदानी बनाउनेदेखि रोजगारदातासम्म प्रक्रियागत रूपमा जानुपर्ने ८ वटा निकायको कार्यसम्पादन अनलाइनमार्फत हेर्न मिल्ने गरी एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) को सुरुवात गरिएको हो । यो प्रणालीबाट सरकारी कर्मचारी, म्यानपावर व्यवसायी, कामदार र अन्य निकायबाट हुने अनियमित क्रियाकलाप नियन्त्रण हुने छ भने कामदारलाई प्रक्रिया बढाउन सहज हुने छ । यस्तो प्रणाली पहिला प्रत्येक निकायमा छुट्टाछुट्टै सञ्चालनमा रहे पनि एक अर्को निकायसँग नजोडिएका कारण अनियमियता हुने गरेको थियो । अब भने एक प्रक्रियाको सुरुबाट अन्त्यसम्म बाहिरी हस्तक्षेप र अनियमिता गर्न सबै निकाय मिल्नु पर्ने हुन्छ । यसैले अब वैदेशिक रोजगारीमा जाने युवाले राहदानी बनाएदेखि सुरु हुने प्रत्येक प्रक्रियाको अभिलेख राख्ने र हेर्न मिल्ने गरी यो प्रणालीको विकास गरिएको छ ।

यो प्रणाली विकास भएपछि राहदानी विभाग, कुटनीतिक नियोग, म्यानपावर, अभिमुखीकरण संस्था, स्वास्थ्य परीक्षण केन्द्र, वैदेशिक रोजगार विभाग, बिमा, कन्सुलर शाखा, बैक, अध्यागमन विभाग र स्वम कामदार लगायतका सरोकारवालाको कार्यशैली अनलाइनबाट नै हेर्न सकिने छ । वैदेशिक रोजगारीमा जाने कामदारले प्रक्रिया सुरु गरेपछि यी निकायहरूबीचको समन्वयन एकीकृत अनलाइन प्रणालीमार्फत मात्र हुने छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार सरोकारवाला निकायको कार्यलाई सहज, सुलभ र छरितो ढंगले गुणस्तरीय सेवा पु¥याउनका यो प्रणालीको विकास गरेको जनाएपनि अन्ततः यो प्रणालीको बाध्यता भनेको यस क्षेत्रमा देखिएको चरम ठगी नै हो । यो प्रणालीमा अध्यागमन विभाग, पासपोर्ट विभाग, कन्सुलर सेवा विभाग, कुटनीतिक नियोगहरू, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बिमा कम्पनी, सीप तथा तालिम प्रदायक संस्था, गन्तव्य देशका रोजगारदाता सम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरू समेत उपलब्ध हुनेछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वैदेशिक रोजगारीका प्रक्रियालाई सहज र पारदर्शी बनाउन सो प्रणालीको विकास गरेको बताएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारीका क्षेत्रमा बांगिएका नियतलाई सोझो बनाउने प्रणालीको रूपमा विकास गरेको बताए ।
“सूचना र सेवालाई प्रविधिमैत्री ढंगले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिसमक्ष पु-याइ वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको हो,” मन्त्री बिष्टले भने, “यसले वैदेशिक रोजगारीको क्षेत्रमा पु¥याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी, पहुँचयोग्य हुनुका साथै गलत सूचनाको आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पुराउनेछ ।”
यस प्रणालीले अन्तरसरकारी निकाय तथा सबै सरोकारवालाबीचको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्नेछ । यस प्रणालीको प्रयोगले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुनेहरू लगायतका अद्यावधिक तथ्यांक उपलब्ध हुने जनाइएको छ । यस प्रणालीका कारण अनुगमन प्रणाली प्रभावकारी भई सेवा प्रवाहको कार्यदक्षता बढ्नेछ । साथै यसबाट प्राप्त अनुभवबाट आगामी दिनमा यस क्षेत्रको नीति तथा कार्यक्रमको तर्जुमा गर्न समेत सहयोग पुग्नेछ । यो सूचना प्रणाली असोज १५ गतेदेखि सम्वद्ध निकायबाट पूर्ण रूपमा लागू हुने मन्त्रालयले जनाएको छ ।