कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
274

युनिग्लोब कलेज नयाँबानेश्वरको प्राङ्गणमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानकासाथै अनुसन्धान र अन्वेषणमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको कलेजले जनाएको छ ।
कार्यक्रमको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणी पोखरेलले उद्घाटन गरेका थिए । कार्यक्रममा पोखरेलले अनुसन्धानको महत्व र युनिग्लोब कलेजले शैक्षिक क्षेत्रमा ल्याएको परिवर्तन तथा विकासको प्रशंसा गरेका थिए । साथै यस्ता कार्यक्रमहरु निरन्तरता आयोजना गर्नुले कलेजको प्रतिबद्धतालाई झन् प्रगाढ पारेको उनले बताए ।

कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरुले नीति निर्माणमा प्रभाव पार्ने उनको भनाइ छ । सम्मेलन प्रमुख प्रा.डा. राधेश्याम प्रधानले अनुसन्धानमूलक शिक्षण पद्धतिमा जोड दिँदै अर्थशास्त्र, वित्तशास्त्र, बजार व्यवस्थापन र संस्थागत सुशासनमा हुने नयाँ अनुसन्धान र अन्वेषणले शिक्षामा नयाँ आयाम थपिने बताए । कलेजका प्रिन्सिपल डा. नर बहादुर विष्टले आगन्तुकहरुलाई स्वागत गर्दै युनिग्लोब कलेजले शैक्षिक क्षेत्रमा अग्रणी भूमिका खेली शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तनको लागि अनुसन्धानमूलक शिक्षण पद्धति महत्वपूर्ण हुने प्रकाश पारे ।
कार्यक्रममा अमेरिका, स्वीट्जरल्याण्ड, इटाली, थाइल्याण्ड, युके, मलेशिया, भारत, चीनलगायत देशका प्रतिनिधीहरुको सहभागिता थियो । कार्यत्रममा १५० वटा अनुसन्धानमूलक कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा ५० भन्दा बढी विदेशी र ८०० भन्दा बढी स्वदेशी व्यक्तिहरुको सहभागिता रहेको थियो ।