कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५
371

अक्सिडेन्टल पब्लिक स्कुलले आफ्नो २५ औँ वर्ष प्रवेशको अवसर पारी खेलकुद महोत्सव सम्पन्न गरेको छ । काठमाडौँको सानो गौचरणमा सम्पन्न सो कार्यक्रमको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले उद्घाटन गरेका थिए ।
मन्त्री विश्वकर्माले उद्घाटनका क्रममा खेलकुदका माध्यमबाट उत्पादित विद्यार्थी राष्ट्रका गहना हुने बताए । राष्ट्रका लागि पदक जित्ने खेलाडीलाई आजीवन भत्ता दिनुपर्ने बताउँदै उनले राज्यले खेलकुदमा बढी लगानी गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक टेकबहादुर पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका डिन प्रा.डा. डिल्लीराज शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. सिद्धिप्र्रसाद कोइराला तथा विद्यालय स्पोर्ट काउन्सिलका अध्यक्ष गोपाल पौडेलले शुभकामना दिएका थिए । २५ वर्षको यात्रामा विद्यालयले खेलकुदका क्षेत्रमा ठूलो फड्को मारेर राष्ट्रिय स्तरका खेलाडी समेत उत्पादन गरेको स्मरण गराउँदै आउँदा दिनमा पनि खेल क्षेत्रमा लागि रहने विद्यालयका निर्देशक डीबी निरौलाले बताए । कक्षाकोठाको सीमित ज्ञानले मात्र विद्यार्थीहरुको चौतर्फी विकास हुन नसक्ने भन्दै प्रत्येक वर्ष विद्यालयले यस्तो कार्यक्रम सञ्चालन गर्ने गरेको विद्यालयका शिक्षक तुलसी घिमिरेले बताए ।
तीन दिनसम्म चलेको उक्त कार्यक्रममा फुटबल, क्रिकेट, खोखो, दौड, कपर्दी, बास्केटवल तथा अन्य एथलेटिक्स लगायतका खेलहरु प्रस्तुत गरिएको थियो । विजेता विद्यार्थीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरी पुरस्कृत गरियो ।