गोपाल संग्रौला
आइतवार, कार्तिक १८, २०७५
363

काठमाडौं-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रविधियुक्त प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएकोे छ । सीटीईभीटीले ५ वर्षे रणनीति तयार गरी कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
रणनीतिक योजना निर्माणका लागि सीटीईभीटीले व्यवस्थापकहरूको क्षमता अभिवृद्धिका लागि हालै ५ दिने कार्यशाला गोष्ठीसमेत आयोजना गरेको छ । कार्यशालाले सन् २०१९–२०२४ रणनीति निर्माणमा पनि सहयोग पुराउने लक्ष्य राखेको सिटीईभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले बताए । नेपालमा प्राविधिक शिक्षाको रणनीतिक योजना तयार गर्न परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय प्रमुखहरूको क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरिएको उनको भनाइ छ ।

परिषद्अन्तर्गतका ४५ वटा आंगिक शिक्षालयका प्रमुख र परिषद्का विभिन्न महाशाखामा कार्यरत कर्मचारीहरू गरी ५२ जना कार्यशालामा सहभागी भएका थिए । उक्त कार्यशालामा सहभागी भएका कार्यालय प्रमुखले सो रणनीतिअनुसार प्राविधिक शिक्षाका कार्यक्रम अघि बढाउने छन् ।
कार्यशालामा कोलम्बो प्लान स्टाफ कलेज (सिपीएससी) मनिलाबाट आएका श्रोत व्यक्तिले वर्तमान अवस्थाको प्राविधिक शिक्षाका सम्बन्धमा जानकारी गराएका थिए । सहभागीहरूले आ–आफ्नो शिक्षालय र पोलिटेक्निकको रणनीतिक योजना तयार गरेका थिए । सहभागीबाट तयार भएको ड्राफ्ट रणनीतिक योजनालाई आ–आफ्नो क्षेत्रमा फर्केर कार्यक्रममा हासिल गरेको ज्ञान र सीप प्रयोग गर्दै सरोकारवालाहरूसँग बृहत् छलफलपछि रणनीतिक योजनालाई अन्तिम रूप दिने तयारी रहेको छ ।
‘सीपयुक्त जनता, समृद्ध नेपाल, सुखी नेपाली’ को चाहना पूरा गर्न शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिकवान एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्नुपर्नेमा सरोकारवालाको जोड छ । यसका लागि शिक्षामा गुणस्तर, समता, समावेशिता, सान्दर्भिकता, उत्पानदशिलता र उत्थानशिलतासहितको सर्वसुलभ पहुँच सुनिश्चित हुनेगरी देशव्यापी रुपमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम अपरिहार्य रहेकोमा उनीहरुको जोड छ ।
परिषद्ले शिक्षालय र पोलिटेक्निकबाट प्राप्त हुन आएको रणनीतिक योजनालाई समायोजन गरी आजको आवश्यकता अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको समतामूलक पहुँच, गुणस्तर सुनिश्चितता, कार्यक्रमको सान्दर्भिकता र दिगोपनलाई केन्द्रबिन्दु मानी उत्पादित जनशक्तिलाई रोजगारीको सुनिश्चितता हुने गरी रणनीति योजना बनाउन लागेको जानकारी परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले दिए ।
कार्यशालामा परिषद्का उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका क्षेत्रमा सूचना तथा प्रविधिको अधिकतम उपयोग गरी अघि बढ्ने योजना रहेको बताए । उपाध्यक्ष डा. बस्नेतले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको नयाँ पाठ्यक्रमको विकास र विद्यमान पाठ्यक्रमको संशोधन गरी उत्पदित जनशक्तिले श्रम बजारमा तुरुन्तै रोजगारी पाउन सक्ने गरी कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सदस्यसचिव वाग्लेले परिषद्बाट मान्यताप्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न परिषद् कार्ययोजना बनाई अघि बढिरहेको जानकारी दिए । सन् २०१४ बाट सुरु भएर २०१८ सम्मका लागि सीपयुक्त नेपाल समृद्ध जनताको दिर्घकालीन सोच राखेर रणनीतिक योजना तयार गरिएको हो ।
उक्त योजनाले विभिन्न ६ वटा लक्ष्य लिएको छ । जसमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिममा समतामूलक पहुँच, गुणस्तर, समयसापेक्षता तथा दक्षताको सुनिश्चितता, प्राविधिक शिक्षा एव तालिम परिषद्को व्यवस्थापनको प्रभावकारिता र दक्षता अभिवृद्धि, राष्ट्रिय व्यावसायिक योग्यताको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम कोष स्थापना, सरोकारवालाहरूसँगको प्रभावकारी समन्वय कायम गर्ने विषयहरू उल्लेख भएको छ ।
यी लक्ष्यहरू पूरा गर्न २ सय ४४ वटा क्रियाकलापहरू तयार गरिएको परिषद्का उपनिर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिए । परिषद्को रणनीतिक योजना मूल्यांकन कार्यशालामा तय भएका ६ वटा लक्ष्यहरू पूरा गर्न तयार भएका क्रियाकलापमाथि बँुदागत छलफल भएको थियोे ।