सागर परियार
मंगलबार, भदौ २६, २०७५
684

जुम्ला-जुम्लाका पाँचवटा विद्यालयलाई स्मार्ट विद्यालय बनाउने प्रक्रिया तीव्र पारिएको छ । विद्यालय स्मार्ट अभियानको सुरुवाति चरणमा जिल्लाका विद्यालयमध्ये चन्दननाथ नगरपालिकाभित्रका पाँचवटा विद्यालयबाट स्मार्ट विद्यालयको अवधारणा सुरु भएको हो । जसमा नमुना मावि चन्दननाथ, चत्नचुण्डेश्वर मावि बोहोरागाउ, कर्णाली मावि अनामनगर, शम्भुनाथ ज्ञानकुञ्ज मावि श्रीढुस्का, जनज्योति मावि वारकोटे बाडालाई स्मार्ट विद्यालय बनाउने तयारी भइरहेको छ ।
पाँचवटै विद्यालय तथा ति विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थीको सरसफाइ अवस्थामा ब्यापक सुधार गरी स्मार्ट विद्यालय घोषणा गरिने भएको छ । स्मार्ट विद्यालय बनाउने अभियानअन्तर्गत अहिले हरेक विद्यालयमया दैनिक सरसफाइका क्रियाकलाप, छलफल, बहस हुनुका साथै सबै विद्यालयमा सरसफाइ सम्मेलनजस्ता क्रियाकलाप भइरहेका छन् ।

स्मार्ट विद्यालय घोषणाका लागि ६ सूचक र ७ वटा चरण पूरा गर्नुपर्नेछ । स्मार्ट विद्यालयले स्वस्थ शौचालयको पहुँच तथा प्रयोग, साबुन पानीले हात धुने तथा व्यक्तिगत सरसफाइ नियमित गर्ने, विद्यालयमा महिनावारी स्वच्छता तथा व्यवस्थापन सुरक्षित खानेपानी, शुरक्षित खाना र स्वच्छ वातावरणलगायतका सूचक अनिवार्य पूरा गर्नुपर्ने मापदण्ड तोकिएको छ । ६ वटा सूचक स्मार्ट घोषणाका लागि छनौटमा परेका विद्यालयले पूरा गर्ने तयारीमा छन् भने ७ वटा चरणका विभिन्न्न कार्यक्रम पनि नियमित रूपमा भइरहेका छन् ।
सोही आधारमा पाँचवटै विद्यालयले सरसफाइ टोली गठन गरेर हरेक दिन सरसफाइको अवस्था विश्लेषण गर्ने, विद्यालय सरसफाइ सम्मेलन गर्ने, सुधारका कार्यक्रम, बजेटको व्यवस्थापन, पुरस्कार, प्रोत्साहनलगायत पूर्ण सरसफाइका ७ वटा चरण पूरा गरिरहेका छन् । यिनै सूचकका आधारमा पाँचवटै विद्यालयले जम्मा विद्यार्थीमध्ये ६ वटा समूह निर्माण गरेका छन् ।
सोही समूहले हरेक दिन सरसफाइ गर्ने र शून्यदेखि सयसम्म अंक दिएर झुण्डाइएका झण्डामा सरसफाइलाई आधारमानी एक समूहले अर्को समूहलाई प्रगतिको नम्बर दिएर विद्यालय तथा ब्यक्तिगत सरसफाइ अवस्था सुधार्दै गएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइको छनोटका आधारमा आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल र एसएनभी नेपालले स्मार्ट विद्यालय बनाउन सहयोग गरेको हो । सोही संस्थाको ७० हजार रकम सहयोगमा हरेक विद्यालयले सरसफाइ कोषसमेत स्थापना गरेका छन् भने अन्य सरसफाइका थुपै्र सामग्री तथा क्षमतावृद्धि तालिम लिने अवसर पाएका छन् ।
स्मार्ट विद्यालय घोषणा भइसकेपछि जिल्लाका अन्य विद्यालयको तुलनामा ति विद्यालयको शैक्षिक, भौतिक तथा सरसफाइ अवस्था गुणस्तरीय हुनेछ । अहिले हरेक विद्यालय प्रतिस्पर्धाको आधारमा आआफ्नो विद्यालयलाई जिल्लाकै पहिलो स्मार्ट विद्यालय बनाउने होडबाजीमा लागेका छन् । जसअन्तर्गत बिहीबार चन्दननाथ माविमा सरसफाइ सम्मेलन सम्पन्न भएको छ । यो अभियानअन्तर्गत चन्दननाथ माविले विद्यालयको बातावरणीय तथा विद्यार्थीको ब्यक्तिगत सरसफाइमा उल्लेख्य प्रगति गरेको छ ।
“विद्यालय स्मार्ट अभियानले सरसफाइमा निकै सुधार भयो, अहिले विद्यालयमा छात्र÷छात्रा शौचालय, खानेपानीलगायत सरसफाइमा आवश्यक सबै सुविधा पर्याप्त छ,” चन्दननाथ माविकी शिक्षिका सृर्मिता बुढाले भनिन्, “महिनावारी भएको समयमा विद्यालयमा सरसफाइ गर्न नपाएर छात्राले घरमा बस्नुपर्ने अवस्था छैन, हामीले विद्यालयमै निःशुल्क सेनेटरी प्याड माग्छौं ।”
छात्रा हरिदेवी भण्डारीले हाल सरसफाइ आफ्नै लागि हो भन्ने अपनत्वको अनुभव भएको बताइन् । सरसफाइ अभियन्ता धर्मराज शाहीले स्मार्ट विद्यालयको गारेटो बाटो तय भएको भन्दै बाटोमा हिँडेर लक्ष्यमा पुग्ने जिम्मेवारी स्वयं विद्यालयको हातमा रहेको बताए । सरसफाइ सम्मेलनमा सहभागी जिल्लाका सरकारी तथा गैरसरकारी निकायले स्मार्ट विद्यालयको अवधारणाअनुसार जिल्लाका सबै विद्यालय र गाउँघरको सरसफाइ अवस्थामा सुधार गरी जिल्लालाई पूर्ण सरसफाइ जिल्ला घोषणा गर्ने अभियानमा लाग्नुपर्ने बताएका थिए ।