कारोबार संवाददाता
मंगलबार, भदौ २६, २०७५
313

दोलखा-मेलुङ गाउँपालिकाले २०७४ को एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । गाउँपालिकाले परीक्षामा ग्रेड ए र ए प्लस ल्याउने विद्यार्थीलाई प्रतिविद्यार्थी ३५ हजारका दरले छात्रवृत्ति वितरण गरेको हो ।
शिक्षा दिवसका अवसरमा मेलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा छात्रवृत्ति वितरण गरेको हो । गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले अघिल्लो वर्ष प्रतिबद्धता गरेको कार्यक्रमअनुसार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको जानकारी दिए । गाउँपालिकाले उच्च शिक्षामा जोड दिएकाले विद्यार्थीलाई प्रोत्साहनका लागि नगदै वितरण गरेको बताए । यो छात्रवृत्तिलै विद्यार्थीको उच्च शिक्षाका लागि सहयोग पुग्ने विश्वास गरे ।

मेलुङ गाउँपालिकाले रोजगारमूलक शिक्षामा जोड दिँदै प्राविधिक शिक्षालय खोल्ने योजनासमेत बनाएको छ । गाउँपालिकाको आव ०७५÷७६ मा प्राविधिक रोजगारमूलक प्राविधिक शिक्षालय खोल्न नीति नै पास गरेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए । विद्यार्थीको पछिल्लो समय प्राविधिक तथा रोजगारमूलक शिक्षातर्फ आकर्षण देखिएको र स्थानीयस्तरको आवश्यकतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको उनले बताए ।
क्षमता भएर पनि विज्ञानजस्ता प्राविधिक र खर्चिलो शिक्षा हासिल गर्नबाट वञ्चित नहुन् भन्ने उद्देश्यले नै गाउँपालिकाले कार्यक्रम नै बनाएर छात्रवृत्ति वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद हुमागार्इंले जानकारी दिए । उनका अनुसार ११ जना विद्यार्थीलाई ३ लाख ८५ हजार छात्रवृत्ति स्वरुप वितरण गरेको हो ।
अघिल्लो वर्ष पनि गाउँपालिकाले ३ जनालाई ३० हजारका दरले छात्रवृत्ति वितरण गरेको थियो । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी उच्चतम् विशिष्ट श्रेणी ल्याउने विद्यार्थीलाई छात्रवृत्ति दिएको हो । शिक्षाको स्तर वृद्धि गर्नका लागि गाउँपालिकाले जुनसुकै उपाय पनि अपनाउने गरी काम गर्ने योजना बनाएको छ ।
विद्यार्थीलाई बेलैदेखि सामाजिक सेवाको भाव विकास गर्न बाल क्लब बनाएर काम गराउने योजना छ । शिक्षकको क्षमता विकास र विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान, विद्यार्थीको भौतिक पूर्वाधार, शैक्षिक सामग्रीको पर्याप्त व्यवस्थालगायत शैक्षिक परिवर्तनका लागि ध्यान दिन लागेको हो ।