कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
307

जुनसुकै नया प्रणाली स्थापना र कार्यान्वयन गरि“दा त्यसप्रति विभिन्न खालका संशय कायम रहनु अनौठो होइन ।

नेपालमा आधुनिक सेयर बजार सुरु भएको अढाई दशकपछि यसलाई पूर्ण स्वचालित बनाइएको छ । अब कुनै पनि सेयरको कारोबार गर्न सेयर बजार अथवा धितोपत्र दलालहरूको कार्यालयमा नै धाइरहनु पर्दैन । सेयर खरिद–बिक्रीको कार्य पूर्ण रूपमा स्वचालित अनलाइन प्रणालीबाट आरम्भ भएपछि यहाँको धितोपत्र बजारले अर्को फड्को मारेको हो । ओपन क्राइ सिस्टमबाट पूर्ण स्वचालित अनलाइन प्रक्रियामा आइपुग्दासम्म नेपालको सेयर बजारले निकै उतारचढाव झेल्नुपरेको छ । विगतमा धितोपत्र दलालहरूको कार्यालयसम्म जोडिएको ल्यानमा समस्या आउँदा वा नेपाल स्टक एक्सचेन्जमा जडित कम्प्युटरको सफ्टवेयरमा समस्या आउँदा बेलाबेलामा बजार नै अवरुद्ध हुने गरेको तीतो अनुभका बीचमा स्वचालित अनलाइन प्रविधिबाट सञ्चालन गरिन थालिएपछि साना लगानीकर्ताहरू विश्वस्त भइसकेका भने छैनन् । जुनसुकै नयाँ प्रणाली स्थापना र कार्यान्वयन गरिँदा त्यसप्रति विभिन्न खालका संशयहरू कायम रहनु पनि अनौठो होइन, तर समयकालमा आममानिसहरू यस्ता प्रणालीहरूसँग अभ्यस्त हुँदै जाँदा त्यसले दिने प्रतिफल सकारात्मक हुने गरेको छ । सुरु–सुरुमा नयाँ प्रविधि भिœयाउदा त्यसबाट गलत प्रविष्टि हुने अथवा आफूले गरेको कारोबार सही ढंगले प्रतिफलमूलक नभई दिँदा त्यसबाट उल्टै घाटा सहनुपर्ने हो कि भन्ने आशंकालाई न्यून गर्न पनि लगानीकर्ताहरूका बीचमा सचेतना बढाउन आवश्यक हुन्छ । हाम्रो सेयर बजार अझै पनि विकासकै क्रममा छ । सेयर बजारमा संस्थागत लगानीकर्ताहरूको उल्लेख्य उपस्थिति नहुँदा साना लगानीकर्ताहरूका बीचमा यस्ता नयाँ प्रविधिहरूको सम्बन्धमा आशंका रहनु स्वाभाविक पनि हो । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ अनलाइनमा आधारित कारोबार सुरुवात गर्ने क्रममा सेयर बजार घट्दै जाँदा लगानीकरताहरूमा विचलन नआओस् भनेर संस्थागत लगानीकर्ताहरूलाई पनि सेयर बजारमा लगानी गर्न आफूले प्रोत्साहित गर्दै आएको बताउनुले यस कुराको पुष्टि गर्छ ।
पूर्ण स्वचालित अनलाइन प्रणालीबाट कारोबार सुरु गरेसँगै नेपालको सेयर बजार पनि अन्तर्राष्ट्रिय स्तरको भएको दाबी गरिएको छ, तर अनलाइन प्रणालीबाट कारोबार हुनु मात्र अन्तर्राष्ट्रिय स्तरको भएको प्रमाण भने होइन । यसका लागि सम्पूर्ण कारोबार पद्धति तथा सेयर बजार सम्बन्धित अन्य सबै प्रक्रियाहरू पनि पूर्ण स्वचालित पद्धतिको हुनु जरुरी छ । यसका लागि धितोपत्र बोर्डदेखि बजार निर्माताहरू र धितोपत्र दलाल सबैलाई स्वचालित बनाइनुपर्छ । विश्व बैंकले हालै मात्र गरेको स्थानीय सेयरसम्बन्धी एक अध्ययनले सेयर बजारमा लगानी गर्ने धेरैजसो साना लगानीकर्ताहरूमा बजारबाट अवास्तविक प्रतिफल पाइने भ्रम रहेको देखाएको छ । सेयर बजारमा गरिएको लगानी रातारात दोब्बर हुँदैन, सेयर बजारमै लगानी गरेर कोही रातारात करोडपति पनि हुँदैन । यस्ता भ्रमहरू छर्नाले साना लगानीकर्ताहरूका बीचमा सेयर बजारसम्बन्धी विभिन्न किसिमका अन्योलहरू कायम छन् । सेयरबाट प्राप्त हुने प्रतिफल बजारको जोखिममा निहीत हुन्छ । यस कुरालाई पूर्ण रूपमा बुझाउन नसकिँदासम्म हाम्रो सेयर बजार पूर्ण आधुनिक र अन्तर्राष्ट्रिय स्तरको भएको दाबी गर्न मिल्दैन ।
सेयर बजारलाई अर्थतन्त्रको ऐना पनि भनिने गरिन्छ तर देशका उपलब्ध आर्थिक परिसूचकहरू र सेयर बजारको परिसूचकका बीचमा अहिलेसम्म तादम्यता पनि कायम भएको देखिँदैन । यसको मुख्य कारण सेयर बजारमा उत्पादनमूलक क्षेत्रको उपस्थिति नहुनु, वित्तीय क्षेत्रको सेयरले नै बजारमा बर्चस्व राख्नु तथा समग्र सेयर बजारप्रति सरकारी दृष्टिकोण पनि स्पष्ट नहुनुजस्ता कारकले भूमिका खेलेका छन । वित्तीय क्षेत्रले समग्र सेयर बजारमा वर्चस्व राख्दा तथा त्यस क्षेत्रको सेयरमा पनि सीमित समूहको नियन्त्रण रहँदा यसले सही तस्बिर नदेखाउनु स्वाभाविक पनि हो । त्यसैले यदि बजारलाई आधुनिक र प्रभावकारी बनाउने हो भने अब संस्थागत लगानीकर्ताहरूसँगै उत्पादनमूलक क्षेत्र प्रवेशका लागि पनि व्यवस्था गरिनु अपरिहार्य भइसकेको छ ।