कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५
313

रुपन्देही- नेपालकै प्रमुख भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७४-७५मा ७० अर्ब ८ करोड २४ लाख रुपैया राजस्व संकलन गरेको छ । संकलित राजस्व भन्सार बिभागले दिएको लक्ष्यको करीब ८६.०४ प्रतिशत हो । यस आर्थिक वर्षमा विभागले यो कार्यालयलाई ८१ अर्ब ४३ करोड राजस्व लक्ष्य निर्धारण गरेकोमा ७० अर्ब ८ करोड २४ लाख संकलन गरेको भैरहवा भन्सार कार्यालयका प्रवक्ता एवं भन्सार अधिकृत कालीराम पौडेलले बताए ।
अघिल्लो वर्षको तुलनामा गत वर्षको असुली १३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ५७ अर्ब ३४ अर्ब ४० लाख राजस्व लक्ष्य रहेकोमा ६२ अर्ब ३२ करोड ६५ लाख राजस्व संकलन भएको थियो । “अघिल्लो वर्ष लक्ष्य ५७ अर्ब थियो, तर गत वर्ष लक्ष्य अत्यधिक वृद्धि गरी ८१ अर्ब पु-याइयो, एकैपटक ३४ अर्ब बढी राजस्व संकलन चुनौतीपुर्ण भए पनि लक्ष्यनजिक भने पुगेकै हौं,” पौडेलले भने ।
कार्यालयका अनुसार लक्ष्यअनुसार राजस्व संकलनमा प्रमुख कारण अघिल्लो वर्षको तुलनामा लक्ष्य अत्यधिक हुनु, यो नाकाबाट आयात हुदै आएका सवारी साधनहरू पुनः वीरगञ्ज नाकाबाटै आयात हुन थाल्नु, क्लिंकरको आन्तरिक उत्पादन बढेकाले आयातमा कमी आउनु जस्ता कारण हुन् ।
चुस्त भन्सार प्रशासन, कर्मचारीको कामप्रति जिम्मेवारी बोध, चोरी निकासीमा सशस्त्र प्रहरी राजस्व गस्तीको प्रभावकारी अनुगमन, नाकामा कडाइजस्ता कारणले लक्ष्य अत्यधिक भए पनि उत्साहजनक संकलन भएको कार्यालयको दाबी छ ।
गत आर्थिक वर्षमा कार्यालयले भन्सार शुल्कतर्फ ३३ अर्ब ८ करोड लक्ष्य रहेकोमा लक्ष्यको ८७ प्रतिशत अर्थात २८ अर्ब ६६ करोड, मूल्य अभिवृद्धि करतर्फ ३५ अर्ब ९६ करोड लक्ष्य रहेकोमा लक्ष्यको ७६ प्रतिशत अर्थात २७ अर्ब १६ करोड तथा अन्त शुल्कमा १२ अर्ब ३९ करोड लक्ष्य रहेकोमा लक्ष्य भन्दा १५ प्रतिशत बढी अर्थात १४ अर्ब २६ करोड संकलन गरेको छ ।
कार्यालयले सडक सुधार र पूर्वाधार शुल्कबापत ६ अर्ब ८५ करोड अतिरिक्त संकलन गरेको हुँदा तोकिएको लक्ष्यभन्दा मात्रै केही थोरै संकलन भएको पौडेलले जानकारी दिए ।
भैरहवा भन्सार नाका वीरगन्जपछि सबैभन्दा ठूलो भन्सार हो । यो नाका हुदैँ सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ, हलुका सवारीसाधन, चामल, मोटरसाइकल, क्लिङ्कर, फ्लाइऐस, एमएस ब्लेड जस्ता औद्योगिक कच्चा सामग्री, टायल मार्बल, खाद्यान्न फलफुल तथा आलुप्याज नै हुन् । यस्तै, निकासी हुने प्रमुख बस्तुमा जडिबुटी, अदुवा, हस्कतलाका सामग्री, एक्रेलिक र पोलीष्टर स्टेपल यार्न, फेब्रिक सेन्थेटिक हो ।

 मनोरञ्जन शर्मा