कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६
287

इलामलाई चियाको जिल्ला भनेर चिनिन्छ । तर, अब इलामले पनि परिचय बदल्दैछ । जिल्लाका विभिन्न क्षेत्रमा चिया मासेर अन्य खेतीसमेत विस्तार हुन थालेको छ । चियाभन्दा कम लगानी र मेहनत लाग्ने भएपछि चियाबारीभित्रै रबर खेतीसमेत गर्न थालिएको हो । इलामको माइ नगरपालिकास्थित चिलिमकोट र सोक्तिम चिया बगानमा हिजोआज चियाभन्दा धेरै रबरका रुख देख्न पाइन्छन् ।
थोरै लगानीबाट धेरै फाइदा हुने भएपछि चिया बगानमा रबर खेती विस्तार गरिएको छ । सरकारबाट ५० वर्षका लागि चिया वगान लिजमा लिएको संघाइ समूहले चिलिमकोटसँगै सोक्तिम चिया बगानमा पनि रबर खेती विस्तार गरेको हो । रबर खेतीमा श्रमिक कम लाग्ने र कच्चा रबरको बजारसमेत खोज्न सजिलो भएकाले संघाइ समूहले रबर खेती विस्तार गरेको पाइएको छ ।
समूहका कर्मचारी ट्यापिङ डेमोस्ट्रेटर राजु पौडेलका अनुसार यो वर्ष मात्र कच्चा रबर बिक्रीबाट १४ लाख रुपैयाँ आम्दानी भएको छ । विगत तीन वर्षदेखि समूहले कच्चा रबर उत्पादन सुरु गरेको हो । चिलिमकोट चिया बगानमा १ सय ६३ हेक्टर क्षेत्रफलमा ७४ हजार रबरका विरुवा लगाइएको छ । यस्तै सोक्तिम चिया बगानमा २ हजार ५ सय बिरुवा लगाइएको छ । यी रबरका रुखबाट खोटो उत्पादन हुन थालेको तीन वर्ष भइसकेको छ । चियाको तुलनामा पाँच गुणा रबरबाट आम्दानी हुने भएकाले रबर खेती लगाइएको पौडेलको भनाइ छ । उनका अनुसार जिल्लाको दक्षिणी क्षेत्र रबर खेतीका लागि उपयुक्त स्थानसमेत मानिन्छ ।
माघ, फागुन चैतबाहेक अन्य महिनामा रबर उत्पादन गरिन्छ । रबरको रुखबाट खोटो संकलन गरी त्यसलाई पकाएर कच्चा रबर बनाइन्छ । पकाएको रबर पातालाई धुँवामा सुकाइन्छ । कच्चा रबर कारखानामा लागि प्रशोधन गरिने बताइएको छ । उत्पादित रबरमध्ये ७५ प्रतिशत ट्युब टायर बनाउन प्रयोग गरिने र अन्य २५ प्रतिशत प्लाष्टिकका सामान बनाउन प्रयोग गरिन्छ ।
झापाको सुरुङ्गा, विराटनगर लगायतका स्थानमा जम्मा ६३ वटा रबर उद्योग सञ्चालनमा रहेको बताइएको छ । नेपालमा नै कच्चा रबरले बजार पाउने भएकाले बजारको समस्या नहुने र मूल्य अभिवृद्धिसमेत हुने देखिन्छ । इलामबाहेक भmापा, मोरङ, सुनसरी जिल्लाका निजी क्षेत्रमा रबरको व्यावसायिक खेती गरिन्छ । इलाममा भने पहिलोपटक सरकारी चिया बगानमा रबर खेती सुरु भएको हो । रबर खेतीका लागि उपयुक्त हावापानी भएकाले यहाँ चाडो रबर खेती विस्तार भएको पौडेलले बताए । रबर उत्पादन र प्रशोधनमा हाल समूहले १ सय कामदार परिचालन गरिरहेको छ । वातावरणीय रुपमा अध्ययन भइनसकेको र सरकारसँग भएको सम्झौताविपरीत रबर लगाइएको भन्दै स्थानीयले भने आपत्ति जनाएका छन् ।
चिया बगानका बीचमा कतै चिया मासेर र ठूलो परिमाणमा रुख मासेर पनि रबर लगाइएको पाइएको माइ नगरपालिकाका स्थानीय वताउँछन् । इलामका चार र झापाका तीन चिया बगान नेपाल सरकारले ५० वर्षका लागि संघाइ समूहलाई लिजमा दिएको हो । पुराना चिया बगानमा चिया भने मासिँदै गएको र अन्य झार जंगल वृद्धि भएकोमा स्थानीय चिन्तित रहेका छन् । यसतर्फ स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान जान जरुरी देखिएको उनीहरूको भनाइ छ । उनीहरूले जे सम्झौता भएको थियो सोही बमोजिम काम हुनु पर्ने माग गर्दै आएका छन् ।

 

टीका खतिवडा