कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
756

झापाको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको तरकारीमा विषादीको मात्रा उच्च भेटिएको छ । बिक्रीका लागि ल्याइएको ब्रोकाउली र प्याजमा ६५ प्रतिशत विषादीको मात्रा भेटिएको हो । जुन खानै मिल्दैन ।
झापाकै राजगढबाट बिक्रीका लागि बिर्तामोडस्थित कृषि बजारमा ल्याएको ब्रोकाउली र प्याजको नमूना संकलन गरी विषादी मापन प्रयोगशालाका कर्मचारीले परीक्षण गरेका थिए । परीक्षणका क्रममा एकै स्थानबाट ल्याइएका ती ब्रोकाउली र प्याजमा ६५ प्रतिशत बिषादीको मात्रा फेला परेको प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले बताइन् । “हामीले कृषि थोक बजारमा व्यापारीले बिक्रीका लागि ल्याएका ब्रोकाउलीको नमूना परीक्षण गरेका हौं, त्यसमा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक ६५ प्रतिशत विषादीको मात्रा भेटिएको हो,” आचार्यले भनिन् । ४५ प्रतिशतभन्दा माथि विषादीको मात्रा भेटिए फलपूmल तथा तरकारी खान मिल्दैन । ३५ प्रतिशतसम्म केही समय राखेर खानयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही समय क्वारेन्टटाइनमा राखेर खान मिल्ने हुन्छ भने त्यसभन्दा माथि भेटिए सो तरकारी तथा फलपूmल खान नमिल्ने उनको भनाइ छ ।

बाह्रदर्शी–३ का चन्द्र साहले ल्याएको २० केजी ब्रोकाउली, सोही स्थानका महावीरलाल साहको १० किलो ब्रोकाउली, बिर्तामोड–४ की सुदा चौधरीले ल्याएको १० किलो र शेर महमदले ल्याएको १ झोला ब्रोकाउली विषादीयुक्त भेटिएको थियो । कृषिथोकमा नै राखिएको मान्छे नभएको ६ बोरा प्याजमा पनि ६५ प्रतिशत नै विषादीको मात्रा भेटिएकाले नगरपालिका र इलाका प्रहरी कार्यालयको सहयोगमा जफत गरिएको प्राविधिक सहायक आचार्यले जानकारी दिइन् । उनका अनुसार ती सबै तरकारी झापाकै कृषकले उत्पादन गरेका हुन् ।
ब्रोकाउली र प्याजमा विषादीको मात्रा बढी भेटिएपछि बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालयलाई जानकारी गराई व्यापारीबाट जफत गरी केही नस्ट गरिएको र केही थप परीक्षणका लागि राखिएको आचार्यले बताइन् । “हामीले नमूना संकलन गरी रिपोर्ट निकालेर कृषि थोक बजार सञ्चालन समितिलाई जानकारी दिने हो, अहिले सो समितिमा व्यवस्थापक र अध्यक्षनै नभएपछि नगरपालिकालाई जानकारी दियौं, नगरप्रमुख आएर उहाँकै अग्रसरतामा ब्रोकाउली नष्ट गरियो,” आचार्यले भनिन् ।