कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५
4442

विश्व बैंकले चालू आर्थिक वर्षमा ५.९ प्रतिशतमात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धि ८ प्रतिशत रहने अनुमान गरे पनि विश्व बैंकले सरकारको प्रक्षेपणभन्दा २ प्रतिशतभन्दा कम हुने अनुमान गरेको छ ।
विश्व बैंकको अर्धवार्षिक क्षेत्रीय आर्थिक अपडेटका अनुसार अघिल्लो वर्ष भने नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहेको अनुमान विश्व बैंकले गरेको छ । तर, केन्द्रीय तथ्यांक विभागले आर्थिक वृद्धिदर भने ५.९ प्रतिशत रहने अनुमान गरेको थियो । आगामी आवमा भने नेपालले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान पनि विश्व बैंकले गरेको छ ।

अर्धवार्षिक क्षेत्रीय आर्थिक अपडेटमा विश्व बैंकले पछिल्लो ६ महिनामा दक्षिण एसियाको आर्थिक अवस्थाको विश्लेषण गर्दे नेपालको उच्च वृद्धिदर कायमै रहेको निष्कर्ष सार्वजनिक गरेको छ ।
यस्तै, संघीयता कार्यान्वयनमा राजनीतिक संक्रमण, पूर्वाधार विकास र सेवा प्रवाहमा असर पर्न सक्ने चुनौती रहेको औंल्याउँदै विश्व बैकले मध्यावधिमा नेपालको औसत आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेको छ । विश्व बैंकका अनुसार क्षेत्रीय रूपमा भने दक्षिण एसियाको आर्थिक वृद्धिदर संसारकै उत्कृष्ट रहेको छ ।