कारोबार संवाददाता
सोमवार, भदौ २५, २०७५
1332

कञ्चनपुर-भीमदत्त नगरपालिकाका वडा कार्यालयले एक वर्षमा आधा करोडभन्दा बढी आम्दानी गरेका छन् । भीनपाका १९ वडामा आर्थिक वर्ष ०७४/७५ मा ५६ लाख ५३ हजार आम्दानी भएको छ ।
आव ०७४/७५ को वार्षिक प्रगति समीक्षा विवरणमा वडा नं. ४ बाहेक सबै वडाको आम्दानी समावेश गरिएको छ । वडा नं. ४ को आम्दानी नगरपालिका कार्यालयको आम्दानीमा समावेश गरिएको छैन । भीनपा–१८ ले सबैभन्दा बढी र वडा नं. १७ मा सबैभन्दा कम आम्दानी भएको छ । वडा नं. १८ मा ८ लाख ९९ हजार १११ र वडा नं. १७ मा ८४ हजार ८८० आम्दानी भएको छ । वडा नं. १८ भूगोल र जनसंख्याका हिसाबले सबैभन्दा ठूलो वडा हो । वडागत रूपमा १८ पछि वडा नं. २ आम्दानीको सूचीमा दोस्रो नम्बरमा छ । २ नम्बर वडामा ६ लाख ६३ हजार २८५ आम्दानी भएको छ । ५ लाख २६ हजार ५६५ रुपैयाँ आम्दानी गरी वडा नं. ३ तेस्रो स्थानमा छ ।

वडा नं. ३ बाट २४ लाख २३ हजार रोयल्टी आम्दानी भएको छ । वडा नं. ६ र १० ले ४ लाखभन्दा बढी आम्दानी गरेका छन् । ६ मा ४ लाख ७६ हजार २१७ र १० मा ४ लाख ५२ हजार ३९९ रुपैयाँ आम्दानी भएको छ । वडा नं. ५ मा ३ लाख १० हजार ५२४ रुपैयाँ आम्दानी गरिएको छ । वडा नं. १, ९, १२ र १३ मा २ लाख बढी आम्दानी भएको छ । वडा नं. १ मा २ लाख ९२ हजार, ९ मा २ लाख ४८ हजार र १२ मा २ लाख ३७ हजार र १३ मा २ लाख २८ हजार आम्दानी गरिएको छ । भीनपाका आधा दर्जन वडाको आम्दानी १ लाखभन्दा बढी छ । त्यसमा वडा नं. ७, ८, ११, १४, १५, १६ र १९ छन् ।
वडा नं. ७ मा १ लाख ८८ हजार, ८ मा १ लाख ६९ हजार, ११ मा १ लाख ६६ हजार, १४ मा १ लाख ८३ हजार, १५ मा १ लाख ३० हजार, १६ मा १ लाख ६० हजार र १९ मा १ लाख ८६ हजार आम्दानी गरिएको छ ।
गत आवमा वडा नं. ३, ७ र ९ बाट ३८ लाख ९९ हजार रोयल्टी संकलन गरिएको थियो । यसमा वडा नं. ३ बाट २४ लाख ७ बाट १ लाख ५३ हजार र ९ बाट १२ लाख ४३ हजार रोयल्टी संकलन गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय सरकारलाई रोयल्टी संकलनको अधिकार दिइएको छ । यसअघि तत्कालीन जिल्ला विकास समितिले रोयल्टी संकलन गर्दै आएका थिए । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय सरकार सञ्चालन ऐनका आधारमा रोयल्टी संकलन गरिएको बताए । “अहिले रोयल्टी संकलनको अधिकार स्थानीय तहलाई दिइएको छ,” त्यसैअनुसार रोयल्टी संकलन गरिएको छ ।
नगर प्रमुख विष्टले भने, “वडा कायालयको आम्दानी सिफारिस, दस्तुर र दण्ड जरिवानाबाट गरिएको हो । नागरिकता, घर, सडक, विद्युत् सिफारिस, पञ्जीकरण दर्ता, नाता प्रमाणति, सम्पत्ति मूल्यांकन, पेशा प्रमाणितलगायतमा शुल्क तथा दस्तुर लिने गरिएको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले चालू आवमा सबै वडाको आम्दानी वृद्धि हुने बताए । उनले भने, “गत वर्षभन्दा सेवाग्राही बढी छन्, रोयल्टी ठेक्का पनि हुन्छ, यसबाट वडाको आम्दानी बढ्छ ।” भीमदत्त नगरपालिका कञ्चनपुरको सबैभन्दा ठूलो र पुरानो नगरपालिका हो ।
-महादेव अवस्थी