३० वर्षसम्म पनि सडक अधुरै
प्रकाश पाक्साँवा
बिहिवार, असार २८, २०७५
287

तेह्रथुम-लालिगुराँस नगरपालिकाको वसन्तपुरदेखि म्याङलुङसम्म सडक निर्माण भएको ३० वर्ष बितिसक्दा पनि बाह्रै महिना सवारीसाधन नचल्दा यात्रुलाई सास्ती भएको छ ।
वसन्तपुरदेखि म्याङलुङसम्मको २६ किमि सडक निर्माण भएको ३० वर्ष बितिसक्दा पनि बाह्रै महिना सवारीसाधन चल्न नसक्दा यात्रुलाई सास्ती भएको हो । धरान–धनकुटा–वसन्तपुर हुदै म्याङलुङसम्म चल्ने यातायातका साधन सडक हिलाम्मे भएका कारण सयौं यात्रु बाटोमा नै अलपत्र पर्ने गरेका छन् । सोही सडकमा अर्बाैं रुपैयाँ खर्च गरी ५ वर्ष अघि पिच गरिए पनि ठेकेदारले गुणस्तरीय काम नगर्दा सडक हिलाम्मे भएको रेडक्रसका जिल्ला सभापति श्रीकृष्ण दाहालले बताए । सडक हिलाम्मे भएपछि सदरमुकाम र जिल्ला अस्पताल आवतजावत गर्न पनि समस्या हुन थालेको छ । एक महिनादेखि सडक हिलाम्मे भएकाले एम्बुलेन्स चल्न नसक्दा बिरामी ल्याउन लान पनि सास्ती भएको सभापति दाहालले बताए । सडक हिलाम्मे भएर सयौं यात्रुलाई सास्ती हुदा पनि जनप्रतिनिधिले चासो नदेखाएको भन्दै स्थानीयवासीले आक्रोश ब्यक्त गर्न थालेका छन् । “अर्बाैं रुपैयाँ खर्च गरी पटकपटक पिच गरिएको सडक अहिले क्षतविक्षत भएको छ,” स्थानीयवासी रेन्जी शेर्र्पाले भने । सडकमा एम्बुलेन्सलगायत साना सवारीसाधन चल्न नसक्दा बिरामीलाई सुविधा सम्पन्न ठाउँसम्म पुराउन समस्या भएको छ ।

करोडौं खर्चिए पनि सडक उस्तै
जिल्ला भित्रिने एकमात्र सडक तरोन्नति नहुँदा यात्रुलाई सास्ती भएको छ । कोशी राजमार्गसँग जोडिएको यो सडक मर्मत सम्भारका लागि बर्सेनि करोडौँ रुपैयाँ खर्चिए पनि सडक भने जस्ताको त्यस्तै छ । पाँच वर्षअघि पहिलो पटक सडक कालोपत्रे भएको थियो । अहिले कालोपत्रे उप्किएर सडक कच्ची बनेकोे छ । सडकको केही खण्ड भासिएको छ । वर्षायाममा सडक हिलाम्मे हुँदा २६ किमि दूरीको सडक पार गर्न गाडीलाई पाँच घण्टासम्म लाग्ने गरेको छ । गाडी फसेर घण्टौँसम्म सडक जाम हुँदा यात्रुलाई समयमै गन्तव्यमा पुग्न मुस्किल पर्ने गरेको भाग्यरेखाका चालक गंगा बुढाथोकीले बताए । “हरेक दिनजसो गाडी फसेर यात्रुको विचल्ली भइरहेको छ,” उनले भने । साँघुरो सडक हिलाम्मे भएपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको जिल्ला ट्राफिक कार्यालय तेह्रथुमका प्रमुख योगेन्द्रकुमार दाहालले बताए । “घाम लाग्दा पूरै गाउँ नै ढाक्ने गरी धुलो उड्छ,” सुर्केका यादव दाहालले बताए । दुई घण्टा पानी पर्ने बित्तिकै हिलाम्मे भएर आवतजावतमै समस्या हुन्छ ।” हिउँदमा दुःखले गाडी सञ्चालन भए पनि बर्खाका बेला निरन्तर सडक अवरुद्ध हुने गरेको छ । गएको वर्ष पनि वर्षामा करिब तीन महिना साना गाडी वसन्तपुरदेखि यता आएनन् । यो वर्ष पनि दुई महिनादेखि साना सवारीसाधन वसन्तपुरबाट कटेर जान नसक्ने यातायात ब्यवसायी डिल्ली रेग्मीले बताए । क्षतिग्रस्त सडकमा यात्रा गर्दा बिरामी पर्ने गरी थकित हुनुपर्ने यात्रु बताउँछन् । विगतमा हरेक वर्ष सडक डिभिजन कार्यालयले मर्मत सम्भारको काम गर्दै आएको यो सडक निर्माणाधीन मध्यपहाडी लोकमार्गले जिम्मा लिएपछि मर्मतको काममा समेत ढिलाइ भइरहेको रेडक्रसका केन्द्रीय सदस्य भूपतिलाल श्रेष्ठको गुनासो छ ।

ठेक्का प्रक्रियाअघि बढ्न सकेन
लोकमार्ग आयोजनाले सडकको चौडा विस्तार र कालोपत्रेसम्मका लागि ठेक्का लगाउने भने पनि अहिलेसम्म प्रक्रिया अघि बढेको छैन । चालू आवमा ६० लाख रुपैयाँको टेण्डर भएर विभिन्न खण्डमा मर्मतको काम भइरहेको लोकमार्गका इन्जियिनर सुरेश तुम्बाहाम्फेले बताए । वर्षायाममा हिलो र हिउँदमा धुलोले यात्रा गर्न अत्यन्तै कठिन हुने ट्याक्सी ब्यवसायी सन्तोष लिङलेखुले बताए । “सडक मर्मतका लागि बजेट पनि आइरहेकै छ, मर्मतको काम पनि भएकै छ । तर दिगो र भरपर्दो काम नहुँदा सडकको अवस्था भने जस्ताको तस्तै छ,” उनले भने । सडकको अवस्था हेर्दा यो सडकमा मर्मत सम्भारको काम भएको भनेर जो कोहीलाई पत्याउनै गाह्रो हुन्छ । “कालोपत्रे भन्नु त नाममात्र हो, सडक हिँडिसक्नु छैन,” पूर्वजिविस सभापति किशोरचन्द्र दुलालले भने । म्याङलुङबाट बस चढ्दा पाँच घण्टासम्म लगाएरमात्र वसन्तपुर पुगिने गरेको उनको भनाइ छ । पूर्वका झापा, मोरङ, सुनसरी र धनकुटासँग जिल्लाको सदरमुकामलाई जोड्ने तथा जिल्लाका विभिन्न गाउँलाई सदरमुकामसँग जोड्ने यो सडक भत्किएपछि गाडी चलाउन समस्या भएको हो । यस सडक खण्डको चित्रेदेखि वसन्तपुर बजार क्षेत्रमा समेत कालोपत्रे उप्किएर लथालिङ भएको छ । वसन्तपुर बजार क्षेत्रकै सडक हिलाम्मे भएर आवतजावतमा समस्या भइरहेको छ । अबको दुई–चार दिनसम्म पनि सडक मर्मतको लागि भरपर्दो तरिकाले काम गरिएन भने वसन्तपुरदेखि म्याङलुङसम्म बस सञ्चालन गर्न नसकिने बस चालकहरू बताउँछन् ।