कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
551

आठ वर्षको प्रयासपछि म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा सडक पुराइएको छ । वि.सं २०६७ मा अदिभारादेखि सुरु भएको सडकको ट्रयाक निर्माणकार्यले हालै पूर्णता पाएको हो ।
करिब एक करोड ७ लाख रुपैयाँको लागतमा अदिभारादेखि सेउलुङ औला डाँडागाउँ हँुदै किटिनी जोड्ने १६ किमि सडकको ट्रयाक निर्माण भएको हो । अदिभारादेखि औलाभीरसम्मको तीन किमि सडक निर्माणमा तत्कालीन जिविस र रुम गाविसबाट करिब ५० लाख रुपैयाँ लगानी भएको थियो ।

गत वर्ष औलाका बासिन्दाले १८ लाख रुपैयाँको लागतमा औलाभीरको पहाड फुटाएर गाउँमा सडक पुराएका थिए । यस वर्ष गाउँपालिकाले विनियोजन गरेको ३५ लाख रुपैयाँ बजेटबाट औलादेखि डाँडागाउँ किटिनी हँुदै बागलुङको तमानखोला गाउँपालिकाको सिमाना सोलेडाँडासम्म सडक पुराइएको उपभोक्ता समितिका अध्यक्ष पदम पुनले बताए ।
भिरालो र चट्टानी पहाडमा सडक निर्माण गर्दा धेरै बजेट र समय खर्च भएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् । यो सडकबाट सेउलुङ, औला, डाँडागाउँ, पात्ले, किटिनीलगायत बस्तीका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । तमानखोला गाउँपालिकाका बासिन्दालाई पनि यो सडकले सुविधा पुगेको वडाध्यक्ष हेमबहादुर पुनले बताए ।
डाडाँगाउँसँगै ७ वटा वडा रहेको मालिका गाउँपालिकाका सबै वडा र बस्ती सडक सञ्जालमा जोडिएका छन् । सडक निर्माण भएपछि स्थानीयवासीलाई आवत–जावत, निर्माण तथा खाद्यान्न सामग्री ढुवानी र गाउँमा उत्पादन भएको कृषि, पशुजन्य वस्तु र वनपैदावार बजारसम्म पुराउन सहज भएको छ ।
ढुवानी खर्च घटेको छ । भौगोलिक रूपमा विकट क्षेत्रका बासिन्दालाई स्वास्थ्य संस्थामा पुगेर सेवा लिन सहज भएकोमा स्थानीयवासी केशबहादुर बुढाथोकीले खुसी ब्यक्त गरे । उकालोमा दुई घण्टा पैदल हिँडनुपर्ने बाटो ३० मिनेटमा छोटिएको छ ।
पाँच मिटर फराकिलो सडकमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि जिप, ट्रयाक्टर, ट्र्याक्सीले सेवा दिन थालेका छन् । दरवाङदेखि तमानखोला जोड्ने छोटो दूरीको मानिएको यो सडकलाई स्तरोन्नति र नियमित सवारी सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।
-सन्तोष गौतम