लक्ष्मीप्रसाद सापकोटा
बुधवार, जेठ ३०, २०७५
404

पर्वत-पर्वतको महासिला गाउँपालिकाको होस्राङ्दी र बालाकोटको बीचमा छ सात्लेको भीर । सात्लेको भीर छिचोलेर सडक बनाउन नसक्दा १७ किलोमिटर घुमाउरो सडक पार गरेर लुंखुबाट होस्राङ्दी पुग्थे स्थानीयवासी । तर त्यही सित्लेको अक्करे भीर छिचोलेर होस्राङ्दीमा मोटरबाटो पुगेको छ ।
महासिला गाउँपालिकाले होस्राङ्दी जोड्नका लागि छोटो बाटो बालकोटबाट अर्घौदी हुँदै होस्राङ्दीसम्म ४ किलोमिटर सडक निर्माण गरेको हो । सित्लेको भीर छिचोलेर नयाँ मोटरबाटो खनिएपछि गाउँपालिका आउन होस्राङ्दीका बासिन्दालाई १४ किलोमिटर छोटिएको छ ।
महासिला–१ को होस्राङ्दीबाट अर्घौदी हुँदै बालाकोट बारेडाँडासम्म सडक निर्माण गर्न स्थानीयवासीले १२ वर्ष अघिदेखि प्रयास गरे पनि सफल भएका थिएनन् । २०६३ सालबाट सडक खन्ने प्रयास भए पनि बल्ल सफल भएको सडक उपभोक्ता समितिका अध्यक्ष विष्णुराम विकले बताए । “एक दशकअघिको प्रयास बल्ल सफल भएको छ,” उनले भने, “सडक बनेपछि १७ किमि घुमेर हिँड्ने होस्राङदीका बासिन्दा अब ४ किमिमै पुग्न सक्छन् ।” घाँस दाउरा गर्न जान पनि कठिन सडक निर्माण गर्न ७ सय घण्टाभन्दा बढी ब्रेकर प्रयोग भएको छ । “पहिले धेरै जनाले यो भीरबाट लडेर ज्यान गुमाएका छन्,” अध्यक्ष विकले भने, “अब यही बाटोमा जीप मोटर कुदाउन सक्ने भएका छौं, सडक निर्माणपछि मानिसको एक दिनको पैदल दूरी एक घण्टामा छोटिएको छ भने भैंसी र बाख्राको पकेट क्षेत्र होस्राङ्दीमा अझै पशुपालन बढाउन सहयोग पुग्नेछ ।”
गाउँपालिकाको ५५ लाख रुपैयाँको आर्थिक सहयोगमा सडकको ४ मिटर फराकिलो ट्रयाक खोलिएको छ । अब यसलाई पनि ७ मिटर फराकिलो बनाउने योजना गाउँपालिकाको रहेको पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहेका वडा नं ५ का अध्यक्ष जीवन उचै ठकुरीले बताए । “गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर यो सडक सम्पन्न गरेको छ,” उनले भने, “गाउँपालिका कार्यालयसँग होस्राङ्दीको सोझो सम्पर्क स्थापित गर्न यो सडक कोशेढुंगा बन्नेछ ।”
सडक सम्पन्न भएपछि बुधबार भब्य कार्यक्रमका बीच उद्घाटन गरिएको छ । गाउँपालिकाका अधयक्ष राजु पौडेलले सडकको रिबन काटेर उद्घाटन गरे । सडक उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले महासिला गाउँपालिकाले धेरै असम्भव भन्दै आएका काम पूरा गर्दै गएको बताए । “हामीले असम्भव भन्दै आएका धेरै काम गर्दै आएका छौं,” उनले भने, “असम्भव भनिएकै यो सडकलाई फराकिलो र बाह्रैमास चल्ने बनाउँछौ ।”
२०५४ सालको स्थानीय निर्वाचनमा यही बाटो खोल्ने योजना बने पनि बजेट र अन्य कारणले असम्भव हुँदै आएको तर यस पटक सफल भएको वडा नं १ का अध्यक्ष इश्वरी भुसालले बताए ।