गाउँमा सडक पुग्दा स्थानीय हर्षित
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
290

बस्ती बसेको ५० वर्षपछि बाटो आउँदा जडेपानीका स्थानीय हर्षित भएका छन् । कञ्चनपुरको बेतकोट नगरपालिका–२ चादनीफाँटा र जडेपानी जोड्ने बाटो बनेपछि स्थानीय खुसी भएका हुन् । बाटो नहुदा स्थानीयले लामो समयदेखि खेतको आलीमा हिँड्दै आएका थिए ।
बेतकोट नगरपालिका–२ ले करिब ५ लाख बजेटमा बाटो बनाइदिँदा स्थानीय बाटो नहुँदाको पीडा भुलेका छन् । वडा कार्यालयले बाटो बनाउने भएपछि २० परिवारले जग्गा दानसमेत गरेका छन् । स्थानीयले बाटोमा पर्ने जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । बाटोमा पर्ने जग्गा दान गरेका ८३ वर्षीय मनिदत्त भट्टले भने, “बाटो नहुदा बन्धकजस्तै भएको थियो बाटो बन्ने भएपछि मैले खुसीले जग्गा दान गरेको हुँ,” उनले थपे, “५० वर्ष खेतको आलीमा हिँड्दाको पीडा आज बाटो खुल्दा बिर्सेका छौँ ।” २०२४ सालमा बसाइँ सरी आएका मनिदत्त भट्टले विगतको पीडा सम्झिदै भने, “घाउको पीडाभन्दा सडक नहुनुको पीडा ठूलो हुँदोरहेछ । बाटो नहुँदा ५ मिनेट समय लाग्ने ठाउँमा पुग्न २ घण्टा लाग्थ्यो गाउँगाउँमा सिंहदरबार भन्थे बल्ल आज महसुस भयो, जे भए पनि ५० वर्षपछि घर अगाडि बाटो आयो ।” बाटो नहुँदा स्कुल जाने विद्यार्थी पनि समस्यामा परेका थिए । स्कुल पुग्न ५ मिनेट लाग्ने बाटोमा २ घण्टा लाग्ने गरेको स्थानीयले बताए । बाटोकै समस्या खेप्दै आएका जगदिश विष्ट पनि बाटो खुलेपछि खुसी भएका छन् । उनले भने, “बाटोका लागि आवश्यक जग्गा मैले पनि उपलब्ध गराएको छु बाटो खुलेपछि ममात्र नभई पुरै गाउँ हर्षित भएको छ ।”
स्थानीय वैजनाथ माध्यमिक विद्यालयका प्राचार्य थिरेन्द्रचन्द्र भट्टले भने, “बाटो खुलेपछि विद्यार्थीलाई विद्यालय आवतजावतमा सहज भएको छ । उनले भने, “यो बाटोले ५० देखि १ सय परिवारलाई सेवा पुग्छ । पहिले विद्यार्थीले विद्यालय समयभन्दा १ घण्टा अगाडि नै विद्यालय आउनु पर्ने बाध्यता थियो अब १० मिनेट अगाडि आउँदा विद्यालय समयमै विद्यार्थीहरू सहज रूपमा आइपुग्छन् ।”
बेतकोट नगरपालिका–२ का वडाध्यक्ष नरेश सिंहले भने, “२०२४ सालदेखि बसोबास गरेको बस्ती बाटोको पहुँचबाट टाढा थियो करिब २ किमि बाटोले ७० घरधुरी लाभान्वित हुने र ७ नम्बर प्रदेशकै आर्थिक समृद्धिसँग जोडिएको दैजीछेला औद्योगिक क्षेत्रसम्म जोड्ने छोटो र सहज बाटो भएको बताए ।” वडा नम्बर २ र ३ का स्थानीयलाई पनि सदरमुकाम र विद्यालय जान सजिलो हुने उनले बताए ।
५०औं वर्षदेखि बाटोको पहुँचबाट टाढा रहेको बस्तीमा सबैको मुहारमा हासो आएको बताउँदै अध्यक्ष सिंहले भने, “यो क्षेत्रको समृद्धि, आर्थिक वा सामाजिक तरिकाले महत्व बढेको बताए । बाटो बनेपछि विगतका दिनमा खेतको आलीबाट हिँड्नु पर्ने बाध्यता हटेको वडाध्यक्ष नरेश सिंहले बताए । लालपुर्जा भएको जमिनमा पनि समझदारी गरेर बाटो चौडा बनाउन जग्गा दान गरेको भन्दै स्थानीयको प्रशंसा गरे ।
बेतकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले भने, “बस्तीका मानिसको बिहे व्रतबन्ध हुँदा गाडी आउने जानेदेखि लिएर बिरामी हुदा सवारीसाधन प्रगोग गर्नबाट वञ्चित भएका थिए । अहिले बाटो खुल्दा हाम्रा घरमा पनि सवारीसाधन आउने भयो भनेर स्थानीय हर्षित भएका छन् ।” उनले बेतकोट नगरपालिकाभित्र बाटो नभएका ठाउँमा बाटो बनाउने र साँघुरो बाटोलाई फराकिलो बनाउने, ग्राभेल भएको ठाउँमा स्तरोन्नति गर्ने, बाटो नभएको ठाउँमा बाटो खोल्ने अभियानसँगै बाटो खुलेको बताए । ५० घर परिवार बसोबास रहेको टोलमा सबैको घर अगाडि ८ मिटर फराकिलो भएको छ । बाटो निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ ।
-महादेव अवस्थी 

 

सातामा धेरै पढिएको