कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
259

म्याड्रिड- नेपालमा हुने लगानी सम्मेलनको पूर्वसन्ध्यामा स्पेनस्थित नेपाली राजदूतावासले स्पेनिस व्यवसायीलाई बोलाएर अन्तक्र्रिया गरेको छ । कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले नेपालमा स्थिर र बलियो सरकार बनेको र लगानीको राम्रो वातावरण बनेको भन्दै स्पेनिस व्यापारीहरूलाई लगानी बढाउन आग्रह गरे । उनले लगानीको सुरक्षामा कुनै चुनौती आए नेपाल सरकारले त्यसको सामना गर्ने भन्दै कानुन निर्माण पनि लगानीमैत्री बनाइएको बताए ।
स्पेनका सफल मानिएका ४० भन्दा बढी व्यवसायी सहभागी कार्यक्रममा उनले लगानीमैत्री कानुनको व्यवस्था तथा प्रतिफल लैजान पाउने विषयमा सरकारले स्पष्ट व्यवस्था गरेकाले नाफा सहज तरिकाले फिर्ता लैजान पाउने व्यवस्था भएको जानकारी दिए । उनले व्यवसायिलाई ढुक्क भएर नेपाललाई लगानीको नयाँ गन्तव्य बनाउन आग्रह गरेका थिए ।

नेपाल सरकारले मार्च २९ र ३० मा गर्न लागेको लगानी सम्मेलनलाई ध्यानमा राखेर स्पेनबाट जति सक्दो धेरै लगानीकर्ता पु-याउने उद्देश्य अनुसार कार्यक्रम गरिएको दूतावासले जनाएको छ । दूतावासको सक्रियतामा नेपाल जाने सम्भावित इच्छुक २० जना लगानीकर्ता रहेको र स्पेनिस लगानीकर्ताको नाम परराष्ट्र मन्त्रालय पठाइएको र निमन्त्रणा नेपाल आउना साथै वितरण गरी गरिने दूतावासले जनाएको छ ।
म्याड्रिडमा रेस्टुरेन्ट व्यवसाय गदै आएका एनआरएनए ग्रान क्यानरियाका निर्वतमान अध्यक्ष गगन कुँवरले दूतावास स्थापना भएको एक वर्षदेखि कुनै पनि गतिविधि नभइरहेको अवस्थामा नेपालीसँग छलफल तथा परामर्श गरेकोमा खुसी व्यक्त गरे । उनले स्पेनका विभिन्न शहरमा यस्ता कार्यक्रम गर्न सुझाव दिए ।