कारोबार संवाददाता
सोमवार, माघ २८, २०७५
455

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीद्वारा निर्माण हुने ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ ।
त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको आइतबार आयोजनास्थल पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनाको शिलान्यास गरे । कार्यक्रममा मन्त्री पुनले आयोजनाको निर्माण तोकिएकै समयमा सम्पन्न गर्नका लागि सक्रिय रहन आग्रह गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका अध्यक्ष कुलमान घिसिङले निर्धारित समयभन्दा अगाडि नै निर्माण गर्न सकेमा यसले विद्युत् आपूर्तिमा सहजता ल्याउने बताए ।
इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्नेछ ।
३ हजार ८ सय मुख्य सुरुङ रहेको आयोजनामा विद्युत्गृह, सर्ज ट्यांकलगायतका संरचनाको काम सुरु भएको र ३ वर्ष अर्थात् फागुन २०७७ भित्र सक्ने लक्ष्य राखिएको आयोजनाका प्रबन्ध सञ्चालक मोहन गौतमले जानकारी दिए । नुवाकोट र रसुवामा निर्माण हुने आयोजना प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री एको क्यास्केड आयोजना हो । क्यास्केड भएकाले माथिल्लो त्रिशूली थ्री बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन ।
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।
निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोडसहित अनुमानित निर्माण लागत ८ अर्ब २२ करोड लागतको अनुमान गरिएको आयोजनामा २ अर्ब ४७ करोड अर्थात् ३० प्रतिशत इक्विटी र ५ अर्ब ७६ करोड अर्थात् ७० प्रतिशत ऋण लगानी हुन लागेको छ । नबिल बंैकको अगुवाइमा गठन भएको सह–वित्तीयकरणमार्फत ऋण लगानी हुने आयोजनाका लागि प्रवद्र्धक कम्पनी र बैंकहरूबीच ४ भदौ २०७५ मा ऋण सम्झौता भइसकेको छ ।
आयोजनाबाट सुख्खायाममा १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार, विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुनेछ । आयोजनाको विद्युत् आयोजनाको विद्युत्गृहबाट करिब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्री बी हब सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ ।

मन्त्री र सचिवको निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र सचिव दिनेश घिमिरेले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजना चालू वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । आयोजनाको स्थलगत निरीक्षणपछि आइतबार मन्त्री पुन र शनिबार सचिव घिमिरे यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री पुनले आयोजनाका सम्बद्ध अधिकारी, ठेकेदार र परामर्शदाता कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै चालू वर्षभित्र सम्पन्न गर्न आग्रह गरे ।
मन्त्रालयका सचिव घिमिरेले स्थलगत भ्रमणपछि आयोजना प्रमुख, ठेकेदार र परामर्शदाता कम्पनीसँग बैठक राखी आयोजना निर्माणको गति बढाएर समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए । ७ वर्षअघि निर्माण सुरु भएको आयोजनाको हालसम्म करिब ८५ प्रतिशत काम पूरा भएको छ भने आगामी वैशाखसम्ममा उत्पादन गरिसक्ने लक्ष्य राखिएको छ । निर्माण सुरु भएको चार वर्षभित्रै आोजना निर्माण सुरु गर्ने लक्ष्य राखिएको थियो ।