मेगराज खड्का
आइतवार, माघ ६, २०७५
662

रुकुम-रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा निर्माणाधीन सिम्रुतुखोला साना जलविद्युत् आयोजना निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र स्थानीय जलविद्युत् सहकारीले नेपालकै नमुनाको रूरुपमा यस आयोजनाको निर्माण गरिरहेका छन् ।
रुकुम उज्यालो कार्यक्रमअन्तर्गत जनताको लगानी समेतमा सहकारीमार्फत निर्माण सम्पन्न हुँदै गरेको यस आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भएको सिम्रुतुखोला जलविद्युत् सहकारीका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिए । २०७३ माघ ८ गते तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले शिलान्यास गरेपछि आयोजना निर्माणकार्य सुरु गरिएको थियो । स्थानीय सिम्रुतुखोला र खाराखोलाको पानीको स्रोतले यस आयोजनाबाट दुई सय किलोवाट विद्युत् उत्पादन हुनेछ । सहकारीका अध्यक्ष ओलीका अनुसार रुकुम उज्यालो कार्यक्रमअन्तर्गत रुकुम पश्चिममा यो नै सबैभन्दा बढी क्षमताको विद्युत् आयोजना हो । अबको दुई महिनाभित्र सबैको घरघरमा बिजुली बालिसक्ने योजना रहेको उनको भनाइ छ । अहिलेसम्म क्यानल निर्माण, पावरहाउस भवन निर्माण र मेसिन जडान कार्यसमेत सकिएको छ । गाउँटोलसम्म लाइन विस्तारको काम तीव्र गतिमा अगाडि बढेको र करिब ३ सय घरधुरीमा मात्र लाइन पु¥याउन बाँकी छ । “घरघरमा वाइरिङ गर्ने काममा अलि समय लाग्नेछ,” अध्यक्ष ओलीले भने, “त्यसका लागि पनि दक्ष जनशक्ति परिचालन गरिएको छ, थोरैमात्र जनशक्ति हुँदा समय लाग्ने देखिएको हो ।” आयोजनाबाट त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिकाका एक हजार तीन सय ९६ घरधुरी लाभान्वित हुने बताइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत एसियाली विकास बैंकको ५ करोड ५० लाख, जनताको श्रमदान तथा नगद २ करोड र सिभिल बैंकबाट ऋण सहयोग १ करोड गरी कुल ८ करोड ५० लाख रुपैयाँ आयोजनामा लगानी गरिएको बताइएको छ । जनश्रमदान स्वरुप त्रिवेणी गाउँपालिकाको वडा नम्बर १, २, ५, ६ र ७ तथा मुसिकोट नगरपालिकाको वडा नम्बर ११ र १२ का स्थानीय उपभोक्ताले प्रतिघर ३० हजारका दरले रकम लगानी गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले देशैभरिका आयोजनाको समीक्षा गर्दै उक्त अनुभवले यसलााई नमुना बनाउन पछिल्लो पटक थप बजेटको समेत व्यवस्था गरेको सहकारीले जनाएको छ । सहकारीमार्फत नेपालकै बढी क्षमताको साना जलविद्युत् आयोजना भएकाले यसलाई राम्रो बनाउन करिब एक करोड बजेट थप गरेको सहकारीले बताएको छ । यसमा ५ प्रतिशत सहकारीको समेत दायित्व हुने सहमति भएको छ । क्यानल निर्माणका लागि केही चट्टानसमेत काट्नुपरेको र ग्याभिङ तारको बलियो पर्खाल लगाउन बजेट थप गरिएको हो । आयोजना निर्माणको काम गौरा कन्स्ट्रक्सन प्रालि र हाइड्रो इनर्जी प्रालिले सयुंक्त रूपमा गरेका छन् । आगामी दिनमा यस आयोजनाबाट उत्पादित विद्युत्बाट कुनै पनि व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई अनुदान र सहुलियतमा ऋण व्यवस्था गरेर स्वरोजगार प्रवद्र्धन गर्ने योजनासमेत रहेको सहकारीले जनाएको छ ।
आयोजना निर्माणका लागि २०६४ सालमा उपभोक्ता समिति गठन गरिएकोमा यसलाई २०७२ मा सहकारीको रूपमा विकास गरेर अगाडि बढाएकाले यसलाई नमुनाको रूपमा हेरिएको छ । अहिले आयोजनाको सेवा क्षेत्रभित्र ४५ वटा समूह बनाएर एक हजार २३ सदस्यले नियमित बचत तथा ऋण परिचालन गर्ने काम गर्दै आएको ऋण उपसमितिका संयोजक ओमप्रकाश बिसीले बताए । गत फागुनदेखि यो काम सुरु गरेको सहकारीले कर्णाली प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको १५ लाख र त्रिवेणी गाउँपालिकाबाट ५ लाख सहयोगमा आफ्नै भवन निर्माण गरिसकेको छ । कुल २४ लाख लागत अनुमान रहेको उक्त भवन निर्माणका लागि बाँकी रकम सहकारीको खर्च गरेको सहकारीका अध्यक्ष ओलीले जानकारी दिए ।