कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५
636

काठमाडौं-सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ३ मेघावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालनमा आएको छ ।
जुरेको पहिरो, भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोसीमा आएको बाढीका कारण क्षति पुगेको परियोजना पुनर्निर्माण सम्पन्न भएपछि सोमबारबाट पूर्ण क्षमतामा सञ्चालन आएको हो । विपदका कारण विभिन्न समयमा प्रशारण रोकिएको सो हाइड्रोपावरको उत्पादित विद्युत् ३४ किमि ३३ केभीए ट्रान्समिसन लाइनमार्फत लामोसाँगु सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

हाइड्रोपावरले कम्पनी पब्लिकको जारी पुँजी ६५ करोडमध्ये हालसम्म संस्थापक सेयर धनीले लिएको सेयर ४८.९७ प्रतिशत रकम बराबरको सेयर निश्कासन गर्ने तयारी गरेको छ । कम्पनीले यथासक्य छिटो साधारण सेयर जारी गर्न लागेको जनाएको छ ।
कम्पनीले ३१ करोड ८३ लाख २८ हजार रुपैयाँ बराबर सर्वसाधारणलाई सेयर निस्कासन गर्ने र सोमध्ये जिल्लाका स्थानीयबासीलाई ६ करोड ५० लाखको सेयर निस्कासन गर्ने संस्थाले जनाएको छ । लिमिटेडका प्रमुख कार्यकारी निर्र्देशक दिनेश पौडेलले जिल्लाका स्थानीयलाई छुट्याइसकेपछि ५० लाख ६६ हजारको कर्मचारी र ५ प्रतिशत १ करोड २६ लाख ६६ हजार ४ सय सामाजिक सुरक्षा कोषका लागि र २३ करोड ५५ लाख ९५ हजार १ सय रुपैयाँको सर्वसाधारणलाई वितरण गरिने जानकारी दिए । सेयर निस्काशन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्ति गरिएको छ । उनका अनुसार कम्पनीको वार्षिक विद्युत् बिक्रीवापतको आम्दानी ९ करोड ७० लाख छ । पब्लिक सेयर जारी पश्चात बैंकको कर्जा घटाउनुका साथै नयाँ परियोजना निर्माण गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल ३० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।