लक्ष्मीप्रसाद सापकोटा
बुधवार, भदौ २७, २०७५
883

पर्वत-पर्वतको मोदी गाउँपालिका वडा नं. २ मा चौधरी ग्रुपले निर्माण गर्दै गरेको मध्यमोदी जलविद्युत आयोजनामा स्थानीयको अबरोधका कारण दुई दिनदेखि निर्माणकार्य ठप्प बनेको छ ।
स्थानीयबासीले आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अबरोध गरेका कारण आइतवारदेखि निर्माणकार्य रोकिएको हो । आयोजनाको सुरुङ्ग निर्माणका क्रममा बम विस्फोट गर्दा स्थानीय बस्ती जोखिममा परेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । बम विस्फोटले गर्दा स्थानीय १६ घरमा क्षती भएको स्थानीयवासीहरुले बताएका छन् ।

निर्माणाधिन जलविद्युत आयोजनामा बम विस्फोट गर्दा घरहरु भत्किन थालेको भन्दै स्थानीयबासीले जिल्ला प्रशासनमा समेत जानकारी गराएको भएपनि कुनै सुनुवाई नभएपछि तालाबन्दी गर्नुपरेको स्थानीय मेघराज ढुंगानाले बताए ।
मोदी गाउँपालिका वडा नं. २ ठाना, कल्लेनी र ओख्लेमा घरहरु भूकम्पको झै भत्किन थालेपछि स्थानीबासीले जलविद्युत आयोजनाको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै आयोजनाको काम ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय रामकुमारी पोख्रेल, मेघराज ढृुंगाना, शेरबहादुर खत्री, खमबहादुर खत्री, मिनकुमारी खत्री, माया खत्री, सावित्रि पोख्रेल र रामबहादुर खत्रीको घर पूर्ण रुपमा क्षती भएको स्थानीय संघर्ष समितिका संयोजक सुजन पोख्रेलले जानकारी दिए । त्यसैगरी लक्ष्मी बहादुर खत्री, होम शर्मा, भगवती जैसी, राधिका शर्मा, खडानन्द जैसी र गोविन्द जैसीको घरमा समेत क्षती पुगेको र अन्य दर्जन घरमा आंशिक क्षती भएको उनको भनाइ छ ।
स्थानीयबासीले आवास निर्माण वा घरबारको क्षतिपूर्तिको माग गरेका छन् । आफूहरुको माग सुनुवाइ नभए चरणबद्ध रुपमा आन्दोलनमा जाने संयोजक पोखरेलले जानकारी दिए । यता जिल्ला प्रशासन कार्यालयले पर्वतले मोदी गाउँपालिकालाई पत्र काट्दै बास्तविकता बुझि सोही अनुसार मिलाउन आग्रह गरेको छ ।
यता आयोजना प्रमुख निरन्जन राउतका अनुसार उनिहरुको घरमा क्षति पुगेको आयोजनाका कारण नभई ७२ को भुकम्पका कारण भएको हुनसक्ने बताए । उनले आयोजनाले क्षति पुराएको हो वा अन्य कारणले हो भन्ने कुरा विशेषज्ञ ल्याएरनै चेकजाँच गर्नुपर्ने बताए । आयोजना प्रमुख राउतका अनुसार स्थानीयले मुआव्जा थोरै भएको भन्दै अहिले आएर अबरोध गर्न नमिल्ने बताए । उनका अनुसार काम सूचारु गर्ने वातावरण बनाईदिनका लागि स्थानीय मोदी गाउँपालिका र जिल्ला प्रशासनसँग अनुरोध गरिएको र एकदुई दिनमा समस्या सुल्झिने विश्वास व्यक्त गरे ।
चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको झण्डै ६० प्रतिशत निर्माणकार्य पुरा भएको छ । २०७१ मंसिर ७ गतेदेखि निर्माण शुरु गरेको आयोजनाले काम तिब्र रुपमा भैरहेको जनाएको छ ।