कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५
381

विराटनगर-आपराधिक घटना बढेसँगै चौतर्फी आलोचना खेप्दै आएको मोरङ प्रहरीले विराटनगर महानगरपालिकामा बम विस्फोट गराउने ३ जनालाई पक्राउ गरेको छ ।
गत साउन २७ गते महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष छेउमै बम विस्फोट भएको थियो । विस्फोट गराउने व्यक्तिलाई पक्राउ गर्न नसकेको भन्दै महानगरवासीले प्रहरीको आलोचना गर्दै आएका थिए । विस्फोटमा संलग्नलाई पक्राउ गरी आइतबार प्रहरीले सार्वजनिक गरेको छ । सिरहा लक्ष्मीपुर परतार गाउँपालिका ३ का २० वर्षीय अभिमन्यु गिरी, सिरहा नगरपालिका ५ सुखिपुरका २४ वर्षीय रामरिझन यादव र मोरङको जहदा गाउँपालिका वडा नम्बर २ हरिनगराका ५३ वर्षीय मनोजकुमार सिंहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी मनोज केसीले जानकारी दिए ।
पक्राउ गरिएका तीनै जनालाई मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । एसपी केसीले जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको योजनाअनुसार बम विस्फोट गराइएको अनुसन्धानको क्रममा खुलेको बताउनुभयो । जनतान्त्रिक तराई मुक्ति मोर्चाका विक्की भन्ने वीरेन्द्र यादवसमेतको सहभागितामा भारत विहार राज्यको दरभंगामा गएको जेठमा बनेको योजनाअनुसार महानगरपालिकामा विस्फोट गराइएको केसीले दाबी गरे । रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको एसपी केसीको भनाइ छ । “सर्वसाधारणमा त्रास फैल्याउन घटना गराइएको अनुसन्धानमा खुलेको छ,” केसीले भने, “महानगरभित्र बम राखेर गेटबाट रिमोर्ट कन्ट्रोलबाट विस्फोट गराएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।” घटनामा संलग्न रहेका मुख्य योजनाकार जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ता बिक्की भन्ने वीरेन्द्र यादव अझै फरार छन् ।