मनोरञ्जन शर्मा
बुधवार, भदौ २७, २०७५
460

रूपन्देही-नक्कली अन्तःशुल्क स्टिकरको मुद्दामा आन्तरिक राजस्व कार्यालय भैरहवाले दुई भारतीय नागरिकसहित ६ जनालाई १० करोड रूपैयाँभन्दा बढी जरिवाना र ६ महिनादेखि १ वर्षसम्मको कैद फैसला गरेको छ ।
कार्यालयले विचाराधीन नक्कली अन्तःशुल्क स्टिकरसम्बन्धी मुद्दाको अन्तिम फैसला मंगलबार गरेको हो । विगत ५ महिनादेखि अनुसन्धानको क्रममा रहेको उक्त मुद्दाको अन्तिम फैसला गर्दै एकजना भारतीय र तीन जना नेपाली नागरिक गरी चार जनालाई जनही २ करोड ९ लाख २७ हजार जरिवाना र एक वर्ष कैद तथा एक जना भारतीय र एक जना नेपालीलाई जनही १ करोड ४ लाख ६३ हजार जरिवाना र छ महिना कैद सजायको फैसला तोकिएको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए । नक्कली स्टिकर ल्याउन प्रयोग भएको भारतीय नम्बर प्लेटको टाटा ईन्डिगो कारसमेत जफत गर्ने फैसला भएको ढकालले बताए ।

दुई जना भारतीयसहित तीन जना व्यक्तिले उक्त भारतीय नम्बरको गाडीमा राखेर जनकपुरतर्फ लैजाँदै गरेको अवस्थामा रूपन्देहीको धकधई क्षेत्रमा गत चैत ६ गते ५० यूपी शक्तिको मदिरामा प्रयोग हुने चार लाख थान नक्कली अन्तःशुल्क स्टिकरहरू बरामद भएका थिए । सो स्टिकर भारतमा छपाई गरी भैरहवाको बेलहिया नाका हुँदै नेपाल भिœयाइएको हो । उक्त घटनामा करिव तीन महिना अघि भएको थुनछेक आदेशमा पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएकोमा अनुसन्धान गर्दै जाँदा जनकपुरस्थित साङ्ग्रिला डिस्टिलरी प्रालिका सञ्चालकलाई समेत दोषि ठहर गरिएको प्रमुख कर अधिकृत ढकालले बताए ।
अन्तःशुल्क ऐन २०५८ ले अन्तःशुल्क अधिकृतलाई अन्तःशुल्कजन्य मुद्दामा सम्वन्धित ब्यक्तिलाई झिकाउने, बयान गराउने, थुनामा राख्नेलगायत प्रचिलत कानुनबमोजिम अदालतलाई भए सरहको अधिकारको व्यवस्था गरेअनुसारनै उक्त नक्कली स्टिकरसम्बन्धी मुद्दाको अनुसन्धानपछि फैसला भएको ढकालले जानकारी दिए ।
अन्तःशुल्क ऐनमा हाल नक्कली अन्तःशुल्क स्टिकरको उत्पादन, पैठारी, ओसारपसार वा भण्डारणलाई सबैभन्दा गम्भीर अपराधको रूपमा व्याख्या गर्दै विगो जफत गरी विगोको दुई सय प्रतिशतसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
सजाय फैसला भएका सबैलाई रूपन्देही कारागार चलान गरिएको छ । उनीहरू पुर्पक्षका लागि थुनामा रहेकै दिनबाटै कैद सजायको दिन गणना हुने र जरिवाना रकम नबुझाए सोहीअनुसार कैदको समय पनि बढ्दै जाने छ ।
पछिल्लो समय मदिरामा अन्तःशुल्कको नक्कली स्टिकर छपाई त्यसको प्रयोग गर्ने क्रम बढ्दै गएको छ । नक्कली स्टिकरसहितको मदिरा बानेश्वर क्षेत्रमा फेला परेकाले आन्तरिक राजश्व विभागको बानेश्वर सेवा केन्द्रले यो मुद्दा हेरिरहेको छ । त्यस्तै मदिरा उत्पादन गर्ने रूपन्देहीबाहेकका भक्तपुर र जनकपुरका अन्य २ डिस्टिलरी उद्योगबाट उत्पादित प्रायः नेपालमा बढी उपभोग हुने ५० युपीको मदिरामा नक्कली स्टिकर प्रयोग हुने गरेको पाइएको छ भने ७० युपीमाथिका निम्न कोटीका मदिरामा पनि नक्कली स्टिकर प्रयोग भइरहेको छ ।
तराईको सिमावर्ती क्षेत्रमा राजश्व बिभागको खासै उपस्थिति नदेखिँदा त्यसक्षेत्रमा नक्कली स्टिकर टासेर मदिरा बिक्रीका लागी पठाइने, बिना ईजाजत मदिरा बिक्री गर्नेलगायतका काम हुने गरेको पाइएको छ ।