कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५
1414

६६ लाख रुपैयाँ अनियमितता गरेर ४ करोड थप ठग्न खोज्ने कृषि विकास बैंक खजुरा शाखाका एक कर्मचारीलाई निलम्बन गरेर कानुनी कारवाही अगाडि बढाइएको छ । कृषि विकास बैंक खजुरा शाखाले दिएको जानकारीअनुसार खजुरा शाखाका व्यवसाय सहायक घनश्याम अधिकारीले सूचना प्रविधिको दुरुपयोग गरी ६६ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको छ भने उनले सवा ४ करोड अनियमितता गर्न खोज्दा सो को खुलासा भएको छ ।
अधिकारीले शाखाका प्रबन्धक सञ्जयराज श्रेष्ठको आइडी ह्याक गरी गत १६ साउनमा ४ करोड २८ लाख रुपैयाँ अनियमितता गर्न खोजेको पुष्टि भएपछि उनी निलम्बनमा परेको सो कार्यालयले जनाएको छ ।

सो शाखाबाट २ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर नहुने भएकाले रकम पेन्डिङमा देखेपछि केन्द्रीय कार्यालयको आइटी विभागले अनियमितताको भेद पत्ता लगाई उनी उपर निगरानी बढाएका थियोे । सो शाखाका अनुसार आरोपित अधिकारीसहित अन्यको समेत मेलेमतो भएको हुनसक्ने आशंका गरिएको छ ।
अधिकारीले अनियमितता गरेको घटनाको जानकारी आएलगत्तै बैंकको मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले अनुसन्धान सुरु गरेको र सो क्रममा अधिकारीले झन्डै दुई वर्षको अवधिमा एक सय रुपैयाँदेखि सवा चार करोड रुपैयाँसम्म अनियमितता गरेको हुनसक्ने तथ्य फेला पारेको बताईएको छ ।
सूचना प्रविधिको टोलीले छानबिनका क्रममा विभिन्न मितिमा अधिकारीले करिब ६६ लाख रुपैयाँ अनियमिमता गरेको फेला परेपछि बैंकको केन्द्रीय कार्यालय व्यवस्थापनले अधिकारीलाई अनुसन्धानका लागि भन्दै १३ भदौदेखि निलम्वन गरेको हो । अधिकारीले सो रकम आफ्नो कृषि विकास बैंकबाहेकको खातामा र आफन्तहरुको खातामा ट्रान्सफर गरेको भेटिएको छ । अधिकारीले विगत दुई वर्षदेखि कम्तीमा एक सय रुपैयाँदेखि एक सय भन्दा बढी पटक गरी ६६ लाख रुपैयाँ अनियमितता गरेको खुलेको छ ।
कार्यालयमा हुने विभिन्न खर्चको रकम, बैंकको शंकास्पद हिसाबको रकम र अन्तर बैंकिङ हिसाब मिलानको रकमबाट अनियमितता गरेको पाईएको छ । बैंकका मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक रामचन्द्र अचार्यले अधिकारीलाई निलम्वन गरी अनुसन्धान जारी रहेको बताएका छन् । उनले अधिकारीबाट करिब ६६ लाख रुपैयाँ भने नगद नै असुल उपर गरेर बैंकलाई घाटाबाट जोगाएको बताउँदै केन्द्रले अनुसंधान गरेको हुँदा केन्द्रीय कार्यालय मै थप जानकारी लिन आग्रह गरे ।
यसैबीच कृषि विकास बैंकका केन्द्रीय प्रवक्ता हिमलाल पौडेलले अधिकारीबारे अनुसन्धान जारी राखेको जानकारी दिँदै भने, “उनी निलम्बनमा मात्र परेको र अनुसन्धान जारी भएको कारणले सबै कुरा अनुसन्धान पछिमात्र आउने छ । ठगी र अनियमितितामा क–कसको संलग्नता रहेको वा नरहेको बारे अहिले नै बताउन सकिँदैन ।”