गौरीशंकर संरक्षण क्षेत्रमा किङ कोब्रा
कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
906

दोलखा-गौरीशंकर संरक्षण क्षेत्रभित्र अत्यन्तै दुर्लभ जातिको किङ कोब्राको नामले चिनिने राजगोमन सर्प फेला परेको छ । कहींबाट वा कसैले ल्याएर छाड्न सक्ने घटना हुन सक्छन् तर बच्चा कोरल्न अण्डाको सुरक्षा गरिरहेकै अवस्थामा देखिएको स्थानीयले बताएका छन् ।
एक साताअघि गौरीशंकर गाउँपालिका–८ बाबियोडाँडा क्षेत्रमा कोब्रा देखिएको स्थानीय यादव आचार्यले जानकारी दिए । समुद्री सतहबाट करिब १३ सय मिटर उचाइको संरक्षित क्षेत्रमा देखिएको अन्दाजी १० देखि १२ फिट लामो कोब्राको तस्बिरलाई संरक्षण क्षेत्रले सार्वजनिक गरेको छ । कोब्राले एक मिटर व्यास र करिब ४० सेमी क्षेत्रभित्र पत्करको झाडीमा अण्डालाई सुरक्षा दिइरहेकाले स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिले स्थानीयलाई जान र हेर्न निषेध गरेको छ ।
स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति सचिव यादव आर्चायले बाख्रा खोज्ने क्रममा कोब्रा देखेपछि अरुलाई खबर गरेका थिए । विश्वरभर पाइने सर्प जातिमध्ये अत्यधिक विष बमन गर्ने विशेषता बोकेको उक्त कोब्राको पोथी भेटिएपछि भाले पनि त्यतै हुनुपर्छ भनेर संरक्षण क्षेत्रको मुख्य कार्यालयबाट अनुसन्धान सुरु गरिएको छ ।
सो सर्पलाई किङ कोब्रा जातिको पुष्टि गर्दै संरक्षण अधिकृत विष्णप्रसाद पाण्डेले ठूलो जातको जन्तु जीउन कठिन हने बताए । “ठूलो जातको जन्तुलाई आहरा पनि धेरै चाहिने हुँदा उनीहरू बाँच्न कठिन हुँदा दुर्लभको सूचीमा राखेको हो,” उनले भने, “राजगोमन लजालु र मानिसलाई आक्रमण नगर्ने प्रकृतिको हुन्छ, बासस्थान नजिक पुगेमा वा अपर्भmट भेटेमा यसले ठुङ्छ ।” स्तनधारी वा मानिस देखेमा दुई फिटसम्म उठेर फँडा फिजाएर चेतावनी दिने गुणकारी स्वभाव पनि उक्त जातिको सर्पमा हुन्छ । उनले यस्तो सर्प तराईमा बढी हुने तर माथिल्लो क्षेत्रमा विरलै मात्र पाइने बताए ।
साना स्तनधारी, चराचुरुंगी यसको मुख्य आहरा हो । कडा विष भएकाले यसले डसेमा उपचार पनि विरलै हुन्छ । कोब्रा देखिएको स्थानमा भेटिने अरु सर्प कमजोर विषका हुन्छन् । सर्पको खतरा नभएकाले त्यसले डसेपछि गरिने उपचारमा पनि ध्यान दिने गरिएको छैन । स्थानीयका अनुसार उक्त क्षेत्रमा सर्पले डस्ने घटना पनि कम सुनिने गरेको बताउँछन् ।