नीरज पिठाकोटे
शुक्रवार, चैत्र १, २०७५
231

बजार अनुगमन प्रभावकारी नहुँदा बर्सेनि उपभोक्ताले अखाद्य वस्तु महंगोमा खरिद गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

वीरगन्ज-तराईमा हर्सोल्लासका साथ मनाइने होली पर्व नजिकिएसँगै बजारमा महंगी तथा कालोबजारी र अखाद्य वस्तु मिसावट गरी विक्री वितरण गर्ने सम्भावना बढे पनि सम्बन्धित निकाय भने मौन देखिएका छन् । खासगरी होली पर्वमा खाद्यवस्तुको खपत बढी हुने भएकाले मंहगी, कालोबजारी तथा अखाद्य वस्तु मिसावट गरी बिक्री वितरण गर्ने सम्भावना बढी हुने भएकाले नियमनकारी निकायहरूले यसको नियन्त्रणका लागि चासो देखाउनुपर्ने भए पनि अहिलेसम्म बजार अनुगमनसमेत हुन नसकेको गुनासो उपभोक्ताको छ ।
उपभोक्ताको हितका लागि भनेर खोलिएका संघसंस्थाले पनि बजार अनुगमनमा चासो नदेखाउँदा उपभोत्ताहरूले अखाद्य वस्तु तथा महंगोमा उपभोग्य सामान किन्नुपर्ने बाध्यात्मक अवस्था सृजना हुन सक्ने भन्दै उपभोक्ता चिन्तित बनेका हुन् । कज्युमर आई नेपालका अध्यक्ष केसी लामिछानेले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बजारको मूल्य नियन्त्रण, वस्तुको गुण नियन्त्रणका लागि स्थानीय सरकारले समन्वय गर्नुपर्ने भए पनि वीरगन्ज महानगरपालिका नै उदासिन रहेको बताउँछन् । सरकारको नियमनकारी निकाय उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले चैत १ गते उपभोक्ता दिवसका लागि तयारी गरिरहेको र होलीलाई केन्द्रीत गरेर अनुगमनको कार्यक्रम भने तयारी नभएको जनाएको छ ।

उपभोक्ताका संरक्षण कार्यालय वीरगन्जका प्रमुख ओमनारायण शर्माले उपभोक्ता दिवसको तयारीमा लागेकाले चैत २ गतेपछि मात्रै होली पर्वलाई केन्द्रीत गरेर अनुगमनको तयारी गर्ने बताए । बजार अनुगमन प्रभावकारी नहुँदा बर्सेनि उपभोक्ताले अखाद्य वस्तु महंगोमा खरिद गर्नुपर्ने बाध्यता रहँदै आएको छ । होलीमा सबैभन्दा बढी बिक्री हुने माछा, मासु पनि मापदण्डविपरितका स्थानमा राखेर बिक्री वितरण गर्ने गरेकाले अस्वस्थ माछा, मासु किनेर खानुुपर्ने उपभोक्तालाई बाध्यता छ । यसअघि जिल्ला प्रशासन कार्यालयले पनि अनुगमन गर्दै आएकोमा नयाँ संरचनापछि स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहहरूलाई बजार अनुगमनको अधिकार दिइएको भए पनि स्थानीय सरकार बेखर छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जनतासँग प्रत्यक्ष सरोकार राख्ने कुरा भएकाले यसमा प्रशासनको ध्यान पनि गएको भन्दै सबै सरोकारवाला निकायको समन्वयमा नै बजारको प्रभावकारी अनुगमन हुनुपर्ने बताए । “केही समन्वयको अभाव छ, यसो भन्दैमा जनताले गुणस्तरीय सेवा र वस्तु उपभोग गर्न पाउनुपर्छ भन्ने नै हो,” उनले भने, “यसका लागि सबै मिलेर काम गर्नुको विकल्प पनि छैन । अहिले हामीले उजुरी र गुनासो आएको विषयमा मात्रै काम गरिरहेका छौं । प्रभावकारी बजार अनुगमनको आवश्यकता छ । त्यसलाई हामी अगाडि बढाउछौं ।”