कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
349

खोटाङ-शैक्षिक तालिम केन्द्र निर्माणपछि उपयोगमा नआउँदै जीर्ण भएको छ । २०६६ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा सेनाको ब्यारेकनजिकै निर्माण गरिएको शैक्षिक तालिम केन्द्र ‘ख’ को भवन उपयोगमा नआउँदै जीर्ण बनेको हो । दिक्तेल–मुढे सडक खण्डमुनि बनाइएको भवन उपयोगमा नआउँदा राज्यको ३३ लाख रकम बालुवामा पानी हाले सरह भएको छ ।
जीर्ण बन्दै गएको भवन हाल स्थानीयले मकैको ढोड र कोदोको नल (छवाली) भण्डार गर्ने गरेका छन् । उपयोगविहीन भवन शौच गर्ने स्थलसमेत बनेको छ । भवन प्रयोगविहीन भएपछि संरक्षण अभावमा ११ कोठा र कोठाभित्रका सबै फर्निचरका सामान काम नलाग्ने अवस्थामा पुगेका छन् । फर्निचर धमिराले खाएको र कतिपय मक्किएर झर्न थालेको स्थानीयले बताए । भवन निर्माणका लागि स्थानीय शिवबहादुर थापाले ६ रोपनी जग्गा निःशुल्क दान गरेका थिए । सरकारी कार्यालयका लागि दान गरेको जग्गामा बनेको भवन बेकम्मा हुँदा जग्गा दाता निरास छन् ।
जिल्लामा कार्यरत शिक्षकको पेशागत क्षमता विकास, प्रधानाध्यापक व्यवस्थापन, विद्यालय व्यवस्थापन, निरन्तर विद्यार्थी मूल्यांकन, कार्यमूलक अनुसन्धान, सूचना तथा सञ्चार प्रविधि तालिम, विज्ञान शिक्षा परियोजना, माध्यमिक शिक्षा एकाइ तालिमलगायत तालिम सञ्चालनका लागि बनाइएको भवनलाई दुई वटा तालिम सञ्चालन गर्न बाहेक उपयोग गरिएको छैन । हाल शैक्षिक तालिम केन्द्रको दैनिक कामकाज सदरमुकाम दिक्तेलस्थित सरस्वती उच्च माविको जग्गामा रहेको महिला छात्रावासमा सञ्चालन भइरहेको छ । निर्माण सकिएपछि २०६७ वैशाख र असोजमा दुई वटा तालिम सञ्चालन गर्ने बाहेक दुई तले भवन उपयोगमा ल्याइएको छैन । सदरमुकाम दिक्तेलबाट अपायक ठाउँमा निर्माण गरिएका कारण भवनलाई प्रयोगमा ल्याउन नसकिएको केन्द्रले जनाएको छ ।