लक्ष्मीप्रसाद सापकोटा
बुधवार, कार्तिक २१, २०७५
231

पर्वत-पर्वतको जलजला गाउँपालिकामा साउनमा गएको बाढी पहिरोबाट विस्थापितको आवास बनाउन अन्तर्राष्ट्रिय पर्वत सेवा समाजले आर्थिक सहयोग गर्ने भएको छ ।
समाजले जलजला गाउँपालिका वडा नं ७ र ८ का पहिरोपीडितलाई आवास बनाउनका लागि गाउँपालिकालाई सहयोग गर्न सम्झौता भएको हो ।

आवास बनाउनका लागि जलजला गाउँपालिका र अन्तर्राष्ट्रिय पर्वत सेवा समाजका बीच सोमबार सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल र समाजका अध्यक्ष पुरन गिरिले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार समाजले एकमुष्ठ रूपमा ९ लाख रुपैंया सहयोग गरिने अध्यक्ष पुरन गिरिले बताए । “गाउँपालिकाले आवास बनाउने क्रममा हामीले सहयोग पुगोस् भनेर एकमुष्ठ सहयोग गर्न लागेका हौं,” उनले भने, “आवास बनाउन अपुग रकम गाउँपालिका र अन्य सहयोगी निकायबाट जुटाइने सहमति भएको छ ।”
पहिरोपीडितका लागि आवास बनाउन अन्तर्राष्ट्रिय पर्वत समाजका सदस्य रहेका विभिन्न मुलुकमा रहेका प्रवासी पर्वतेलीले सहयोग अभियान सञ्चालन गरेका थिए । अभियानबाट संकलित रकम समाजले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । सम्झौताअनुसार गाउँपालिकाले एक वर्षभित्रमा आवास निर्माण र मर्मतको काम सम्पन्न गरी सक्नुपर्ने अध्यक्ष गिरिले जानकारी दिए ।
जलजला गाउँपालिकामा दुई दर्जन घरमा पूर्ण र आँशिक रूपमा क्षति पुगेको छ । घरमा बस्नै नहुने गरी आधा दर्जन घर बगाएको छ भने अन्य घरमा सामान्य मर्मत र पहिरो रोकथामका लागि तार जाली लगाएमा बस्न सकिने अवस्थामा छन । विस्थापितमध्ये पूर्णरूपमा क्षति भएका घर पुरै निर्माण गर्ने र मर्मत गरेर बस्न सकिने घरमा मर्मत गरिने गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए । “गाउँपालिकाले ठूलो खर्च गरेर घर बनाउने भन्दा पनि पुरै बनाउनु पर्ने घरलाई पूरै निर्माण र मर्मत गर्न सकिने अवस्थामा मर्मत गरेर पुनःस्थापित गर्ने योजना बनाएका हौं ।” बाढी पहिरोपीडितका लागि लायन्स क्लब, विभिन्न सामाजिक संस्था र ब्यक्तिगत रूपमा समेत गाउँपालिकालाई सहयोग भइरहेको छ । सहयोग रकमबाट अपुग हुने रकम गाउँपालिकाले ब्यवस्था गर्ने अध्यक्ष मल्लले बताए ।