कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५
300

नेपालगन्ज-विकास निर्माणको ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगरी बदनामी कमाएको पप्पु कन्स्ट्रक्सनले बर्दियाको बबई नदीस्थित जब्दीघाटमा निर्माण गरेको पुल भासिएको एक वर्षभन्दा बढी भइसक्दा पनि अझैसम्म मर्मत गरेको छैन ।
उक्त पुल मर्मत नगरिएकाले गुलरिया र बारबर्दिया नगरपालिकाका करिब १ लाख बासिन्दाले आवागमनमा सास्ती झेल्नु परेको छ । पुल नबन्दा एक वर्षदेखि सो क्षेत्रका स्थानीय सानो बाटो हुँदाहुँदै पनि ५० किमि लामो घुमाउरो बाटो भएर आउजाउ गर्न बाध्य छन् । पप्पु कन्स्ट्रक्सनद्वारा निर्मित गुलरिया–रम्मापुर जोड्ने बबई नदीस्थित जब्दीघाटमा पुल हस्तान्तरण नहुँदै गत वर्षको साउन २८ मा भासिएको थियो । अहिलेसम्म पनि सो पुल मर्मत गरिएको छैन ।

गुलरियाबाट जयनगरस्थित नगरपालिकाको कार्यालय करिब १० किमिको दूरीमा छ । अहिले गुलरियाबाट लक्ष्मणा, औरी हुँदै बारबर्दिया ओहोरदोहोर गर्नुपर्दा यातायात खर्चका साथै समय पनि बढी लाग्ने गरेको स्थानीयले गुनासो गरेका छन् । बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारूले सरकारले कारबाही प्रक्रिया अघि नबढाएकाले यस क्षेत्रका झन्डै १ लाख बासिन्दा कष्टकर यात्रा गर्न बाध्य रहेको बताए । छिटो मर्मत नगर्दा आउजाउमा कठिनाइ भएको उनको भनाइ छ ।
पुलबाट मोटरसाइकललाई पार गर्न दिइएको भए पनि वर्षा हुनासाथ पुलबाट ओहोरदोहोर बन्द हुने गरेको छ । चारपांग्रे सवारीका साधनमा सडक डिभिजन कार्यालयले प्रतिबन्ध लगाएको छ । पुल भासिएपछि पुल महाशाखाले छानबिन गरेर पप्पु कन्स्ट्रक्सनलाई दोषी ठहर गरिसकेको छ । महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले पप्पु कन्स्ट्रक्सनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । महाशाखाले कारबाही प्रक्रिया गर्न नमिल्ने भएको छ । अख्तियारले पुल भासिएको बारे छानबिनको जिम्मा लिएकाले उसैले कारबाही गर्ने महाशाखाले जनायो ।
अख्तियार प्रमुख नवीन घिमिरेले पुलको छानबिन प्रतिवेदन एक साताभित्र टुंगो लगाउने बताए । “छानबिनको टुंगो लाग्छ,” उनले भने, “यसबाहेक अरू कुरा बोल्न मिल्दैन ।” उक्त कन्स्ट्रक्सनले १६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर पुल निर्माण गरेको थियो ।
एक वर्षअघि साउन २८ गते बाढी आएपछि पुल भासिएको थियो । गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले पुलको छानबिन चाँडै टुंग्याएर दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पर्साबाट संघीय समाजवादी फोरम लोकतान्त्रिक पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।