मीनकुमार नवोदित
बुधवार, भदौ २७, २०७५
304

विराटनगर- तीनै तहको निर्वाचनपछि मुलुकमा लगानीको वातावरण बन्ने आशामा बसेका उद्योगीहरू यतिबेला निराश देखिएका छन् । एकातिर करको बोझ थोपरिएको छ भने अर्कातिर चन्दाको आतंक फैलिएको छ । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा चन्दाआतंक बढेको छ यतिबेला । चन्दाआतंकका कारण मोबाइल उठाउने अवस्थामा नरहेको उद्योगी बताउँछन् ।
चन्दा माग्न आउने समूह र व्यक्तिका कारण कतिपय उद्योगीहरू लामो कार्यक्रम बनाएर विदेश निस्किएका छन् । विभिन्न पर्व, अधिवेशन, भ्रमणलगायतका लागि चन्दा माग्न आउनेको लर्को नै लाग्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए । “विराटनगर छाडेर भागौं जस्तो भइसक्यो,” सारडाले भने, “गरिखानेभन्दा मागी खानेको बिगबिगी छ यतिबेला ।” चन्दाका लागि दैनिक १२–१५ वटा फोन आउने गरेको उनले सुनाए । मुलुकमा शान्ति भए पनि चन्दाआतंक नरोकिएको उनको भनाइ छ । “सरकारले औद्योगिक क्रान्ति गर्छु भनिरहेको छ,” उनले थपे, “तर उद्योगी चन्दाका कारण भाग्नुपरेको छ ।”

बैंकको चर्को ब्याज, कर, मजदुर समस्या, मजदुरको वृद्धिको तलबलगायतका कारण उद्योगीहरू लगानीका लागि उत्साहित नभएको सारडाले बताए । “यो क्षेत्रका धेरैजसो उद्योगी दसैं–तिहारसम्म नफर्किने गरी विदेश गइसकेका छन्,” उनले भने, “मलाई पनि सबै छाडेर अहिले नै भागौं जस्तो भइरहेको छ ।”
सरस्वती पूजादेखि सुरु हुने चन्दाआतंक छठसम्म रहन्छ । नयाँ वर्ष, ईद, कृष्णजन्माष्टमी, विश्वकर्मा पूजा, दसंंै, तिहार, छठ मनाउनसमेत चन्दा माग्न आउनेको लर्को लाग्ने गरेको सारडाले सुनाए । उनका अनुसार यसबाहेक शैक्षिक भ्रमण, विभिन्न दल र संगठनको अधिवेशन, उपचारका लागि चन्दा माग्न आउनेको भीड नै लाग्ने गरेको छ । कतिपय व्यक्तिको चन्दा उठाउनुलाई पेशा नै बनाएको उनको भनाइ छ । अझ पछिल्लो समय विप्लव माओवादीले समेत यो क्षेत्रका उद्योगीलाई आतंकित बनाइरहेको बताइएको छ । “सामान्य पूजाआजामा चन्दा माग्नु त ठीकै हो तर विप्लव माओवादीले चन्दा मागेर उद्योगीहरूलाई मानसिक टर्चर दिइरहेको छ,” एक उद्योगीले भने, “जुनसुकै सरकार आए पनि उद्योग व्यवसाय गरेर खाने अवस्था अझै सिर्जना भएन ।”
मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा ६ सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । उद्योगीहरूले चन्दालाई खर्चमा लेख्न पाउनुपर्ने माग लामो समयदेखि उठाउँदै आएका छन् । “कस्तो विडम्बना छ भने चन्दालाई खर्चमा समेत लेख्न पाएका छैनौं,” नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउतले भने, “सरकारले चन्दालाई खर्चमा लेख्न पाउने व्यवस्था गर्नुपर्छ ।” निर्धक्कसँग अझै पनि लगानी गर्ने वातावरण बन्न नसकेको राउतको भनाइ छ । उपाध्यक्ष राउतका अनुसार विद्युतको समस्या पनि अझै हट्न सकेको छैन । “लो भोल्टेज र ट्रिप्रिङको समस्या छ,” उनले थपे, “लोडसेडिङ अन्त्यको घोषणा गरिए पनि अझै पनि दिनहुँ औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङको समस्या छ ।”