दिपक बोहरा
शुक्रवार, असार ८, २०७५
683

पाँचथर-पाँचथरको सर्वाधिक चासोरहेको स्याउडाँडा हवाई मैदान निर्माणका लागि पुनः सम्भाव्यता अध्ययन सुरु गरिएको छ । २०६७ सालमा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको हवाई मैदानलाई पुनः सम्भाव्यता अध्ययन गरिएको हो । । नागरिक उड्डयन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सीको टोलीले हवाई मैदानको पूरक सम्भाव्यता अध्ययन गरेको हो ।
स्याउडाँडा हवाई मैदानका लागी सही स्थान भएको एकिन भएपछि हवाई मैदान निर्माणका लागि स्थानीयले एक सय रोपनी जग्गा निःशुल्क र बाँकीप्रति रोपनी १० हजार रुपैयाँको दरले हवाई मैदानका लागि जग्गा उपलब्ध गराउने भएपछि हवाई मैदान निर्माणको प्रक्रिया अगाडि बढेको हो । २०६७ सालमा पहिलो पटक सर्वे भएको हवाई मैदान ८ वर्षपछि पुनः सम्भाव्यता अध्ययन भएका हो । लामो समय बित्दा पनि हवाई मैदान निर्माणको काम अघि नबढ्दा स्थानीय निराश हवाई मैदान निर्माण हुनेमा शंका गरिरहेका छन् ।

१२ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको रनवेका लागि सम्भाव्यता अध्ययन गरिएको अध्ययन टोलीले बताएको छ । पहिलो पटक सर्वे गर्दा १८ सिटे जहाजलाई मात्र अवतरण गर्न र उडान भर्न सकिने गरी अध्ययन गरिएको थियो । तर, अहिले ५० सिटे जहाजलाई अवतरण गर्न र उडान भर्र्न सकिने गरिएको हवाई मैदान निर्माणका लागि प्राधिकरणले पुनः अध्ययन गरेको बताइएको छ ।
अध्ययनको प्रतिवेदन पाँच महिनाभित्रमा नागरिक उड्डयन प्राधिकरणमा बुझाइने र त्यसपछि हवाई मैदानको समग्र अध्ययन गरिने अध्ययन टोलीले बताएको छ ।