कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
305

नेपालगन्ज-लामो समयदेखि बधशालाको आवश्यकता महसुस गरिए पनि निर्माण हुन नसकेकोमा अब प्रदेश सरकार, स्थानीय तह र किसान सहकारी मिलेर कोहलपुरमा २० करोडको लागतमा अत्याधुनिक बधशाला निर्माण गर्न लागिएको छ ।
सोका लागि प्रदेश सरकारले १ करोड ९७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिसकेको छ । कोहलपुर नगरपालिकाले वधशाला निर्माणका लागि प्रस्ताव गरेको जनाउँदै कोहलपुरका नगर प्रमुख लुटबहादुर रावतले फोरपी मोडल (सरकार, निजी र उत्पादक) अनुसार बधशाला निर्माण हुन लागेको बताए ।

सो योजनो बहुवर्षीय योजना भएको नगरपालिकाले जनाएको छ । कोहलपुर–१२ मा रहेको २ बिघा २ कट्ठाजमिनमा वधशाला निर्माण गरिन लागिएको हो ।
स्थानीय तहले रकम जुट्याएर काम अगाडि बढाउने प्रमुख रावतले बताए । यसका लागि जिल्लाका स्थानीय तह र किसान सहकारीसँग पटक–पटक बैठक बसेर छलफल गरेको उनले बताए । “सबै स्थानीय सरकार वधशाला बनाउने कुरामा सकारात्मक देखिएका छन्,” उनले भने, “पशुपालक किसान झनै उत्साहित छन् । त्यसैले आर्थिक अभाव होला भन्ने चिन्ता छैन ।”
खुला रूपमा व्यापार गर्दै आएका मासु व्यवसायीलाई व्यवस्थित बनाउन र उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील हुन यसको जरुरी रहेको नगरपालिकाको धारणा छ । नगरपालिकाले धेरैपटक अनुगमन गरेर कोहलपुरमा मासु व्यापारलाई केही व्यवस्थित बनाउन सकेको छ । तर, पूर्ण रूपमा स्वस्थकर भने हुन नसकेको प्रमुख रावतले बताए ।
नगरप्रमुख रावतका अनुसार वधशाला अत्याधुनिक हुनेछ । यसमा बिजुलीको झट्काले बेहोस बनाउने अनि वध गरिने प्रविधि जडान गरिएको छ । “यस्तो शैलीको मासु कटाइ स्वथ्यकर हुँदो रहेछ,” उनले भने । साथै त्यही बधशालामा तयार भएको मासु बाँके जिल्लाभर वितरण गर्ने व्यवस्था रहेको उनले सुनाए । आफ्नै संयोजकत्वमा वधशाला व्यवस्थापन समितिसमेत गठन गरिसकेको उनले सुनाए ।
बधशाला बनेपछि भने सञ्चालनमा नगरपालिकाले निजी क्षेत्रलाई नै जिम्मा दिने उनले सुनाए । डीपीआर भइसकेको र के कति लागत लाग्छ, त्यसमा प्रत्येक वर्ष स्थानीय सरकारले आफूलाई अनुकूल हुने बजेट छुट्याउने प्रतिबद्धतासमेत व्यक्त गरेको नगर प्रमखुका प्रेस सल्लाहकार भीम रावतले बताए ।
अत्याधुनिक वधशाला निर्माणको प्राविधिक पक्ष हेफर इन्टरनेसनलले हेरेको छ । हेफरका कार्यक्रम व्यवस्थापक प्रकाश केसीका अनुसार बधशालाको गुरुयोजनाले पशुपालन गर्ने किसान, व्यवसायीदेखि उपभोक्ता सबैलाई उत्तिकै फाइदाजनक रहेको दाबी गरे । “यसले पशुपालक किसान वृद्धिमा थप टेवा पुग्नेछ,” उनले भने, “साथै, मासु व्यवसायमा सहजीकरण आउँछ ।”
बधशाला बन्ने भएपछि मासु व्यवसायी पनि उत्साहित छन् । कोहलपुर मासु व्यवसायी समितिका अध्यक्ष रामकृष्ण रानाले धेरै पहिलेदेखिको बधशाला खोल्ने कुरा हुँदाहुँदै पनि विभिन्न कारणले बन्न नसकेको बताए ।
खासगरी त्रिपक्षीय साझेदारीले बधशालाको भविष्य उज्जवल रहेको उनले बताए । उनका अनुसार कोहलपुरमा थुप्रै मासु पसल छन् जसमा एकरूपता छैन । मनोमानी व्यवसाय गर्नेलाई पनि बधशाला निर्माणले नियन्त्रण गर्ने उनले सुनाए ।