अमरराज आचार्य
शुक्रवार, चैत्र १, २०७५
473

दाङ-खेतबारी जोत्नलाई प्रविधिको प्रयोगले किसानलाई सहज बनाइदिए जस्तै पछिल्लो समयमा धान कुट्नलाई घरमै कृषि उद्योग पुग्न थालेपछि सेवाग्राहीलाई सहज भएको छ ।
केही महिना पहिलेसम्म धानको थैलो पिठ्युँमा बोकेर मिलसम्म पुग्ने घोराही–५ भैंसापथ्रा निवासी चिन्ताकुमारी वली अहिले घरमै धान कुटाउन थालेकी छिन् ।

धान कुट्नलाई घरमै धान कुट्ने कृषियन्त्र (मिल) आउन थालेपछि धेरै सजिलो भएको उनले बताइन् । उनकाअनुसार घरमै धान कुटिन थालेपछि धानको बोरा बोकेर मिल जानुपर्ने बाध्यता हटेको छ । “गाउँमा धान कुट्ने मिल नहुँदा पहिले आधा घण्टासम्म हिँड्नु पर्ने बाध्यता थियो,” उनले भनिन् । अब पिठ्युँमा धानको बोरा बोकेर मिल जानुपर्ने बाध्यता हटेको बताइन् । फोनकै भरमा धान कुट्नलाई घरमै कृषियन्त्र (मिल) आउने भएपछि आफू जस्तै अन्य महिलाहरूलाई समेत सहज भएको उनको भनाइ छ । घरमै धान कुट्न सकिने भएपछि समयको बचतसँगै दुःख पनि कम हुने बताइन् ।
प्रविधिको विकाससँगै घर आँगनमै धान कुट्नलाई मेसिन आउने भएपछि गाउँम ामहिलाहरूलाई सहज भएको अर्का सेवाग्राही दुर्गा डाँगी बताउँछन् । घर आँगनमै धान कुट्ने व्यवस्था नहुँदा महिलाहरूलाई धान कुट्नलाई टाढा जानुपर्ने बाध्यता थियो, अहिले त्यो हटेको उनी बताउँछन् । “घर आँगनमै धान कुटी दिने मिल आउन थालेपछि सेवाग्राहीलाई धेरै राहत भएको छ,” डाँगीले भने । पहिले धानको थैलो बोकेर मिलसम्म जानुपर्ने बाध्यता रहेको बताए । प्रविधिको विकासले गाउँका धेरैलाई खुसी बनाइ दिएको उनको भनाइ छ । धान कुट्नलाई घरमै मिलसहितको टेक्टर आउने भएपछि उनीहरूजस्तै धेरै सेवाग्राही सहज भएको छ ।
घोराही–९ कटुकीका जुद्धबहादुर चौधरीले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत उनले धान कुट्न मिल्ने कृषियन्त्र किनेपछि घर–घरमै धान कुट्ने सुविधा सेवाग्राहीले पाएका छन् । चौधरीले गत असोज महिनामा धान कुट्ने मेसिन किनेका हुन् । करिब ७ लाख रुपैयाँमा किनेको बताए । चौधरीलाई पछिल्लो समय धान कुट्नलाई धेरै गाउँहरू बाट बोलाइने गरेका छन् । “धान कुट्नलाई घरमै हामीजाने भएपछि धेरै गाउँबाट बोलाउने गुर्नहुन्छ,” उनले । जसले गर्दा किसानलाई धान कुट्नलाई टाढा जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ । किसानको घरदैलो मै धान कुटीदिने व्यवस्था भएपछि महिला दिदी–बहिनी खुसी हुने गरेको समेत उनले बताए । चौधरीले प्रतिकिलो दुई रुपैयाँका दरले धान कुट्ने गरेका छन् । कटुकी निवासीचौधरी धान कुट्नलाई कटुकीसँगै दुन्द्रा, शुक्रबार, नैनवार, भैंसाप्रथा, सेवार, मर्पा, एकलघरुवालगायतका गाउँमा जाने गरेका छन् ।