कारोबार संवाददाता
सोमवार, माघ २८, २०७५
326

नेपाल उद्योग परिसंघले आइतबार एक पत्रकार सम्मेलन गरी यही फागुन २ गते आयोजना हुने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । सम्मेलनको उद्देश्य तथा हालसम्मको कार्य प्रगतिको जानकारी गराउने उद्देश्यले सो पत्रकार सम्मेलन गरिएको थियो ।
सम्मेलनमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले स्थानीय स्तरमा उद्यमशीलताको विकासको सोच नआएसम्म यस क्षेत्रमा युवाहरूको आकर्षण बढ्न नसक्ने यथार्थता औल्याउँदै उद्यमशीलता सम्मेलनले यही अवधारणाको विकासमा जोड दिने धारणा व्यक्त गरेका थिए ।

मुलुकको आर्थिक समृद्धिमा विशेषतः उद्यमशीलताको विकास, नवीनतम सोच, प्रविधि र सिर्जनशीलताको प्रमुख भूमिका हुने र रोजगारी वृद्धिमा समेत सहयोग पुग्ने यथार्थतालाई दृष्टिगत गर्दै नेपाल उद्योग परिसंघ, नेपाल सरकार अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रुपले संयुक्त रूपमा यही ०७५ साल फागुन २ गते काठमाडौमा नेपाल उद्यमशीलता सम्मेलनको आयोजना गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी उक्त पत्रकार सम्मेलनमा गराइएको थियो ।
यस सम्मेलनले उद्यमशीलतालाई आर्थिक सम्बाहकको रूपमा पहिचान गर्दै, साना, मझौला तथा ठूला उद्योग–व्यवसाय एवं देशभरिका नयाँ युवा उद्यमीबीचको सम्बन्ध विस्तार गर्ने, नयाँप्रतिभा, प्रविधि, सिर्जनशीलताका साथै उद्यमशीलतालाई प्रवद्र्धन गर्ने र विदेशमा रहेका युवाहरूलाई स्वदेशमै उद्यम तथा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने नीति तथा कानुनको पहिचान गर्ने उद्देश्यसहित यो सम्मेलन गर्न लागिएको सबैमा जानकारी गराउन चाहन्छौं । यस सम्मेलनबाट नेपालमा उद्यमशीलता विकासमा ठोस टेवा पुग्ने आशा एवं अपेक्षा आयोजकले गरेको बताइएको छ ।
यस सम्मेलनलाई प्रधानमन्त्रीबाट विशेष सम्बोधन हुनेछ । सम्मेलनमा संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा संघीय अर्थमन्त्रीका समेत नेपालमा औद्योगिक विकास तथा उद्यमशीलता प्रवद्र्धनका विषयमा आफ्ना विचारहरू प्रस्तुत हुनेछ । यस्तै यस सम्मेलनमा नेपालका ७ वटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरूमार्फत सम्बन्धित प्रदेशका औद्योगिक सम्भाव्यता तथा उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमहरूको जानकारी समेत गराइने कार्यक्रम छ ।
यस सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा कार्यरत विभिन्न १५ जना अतिथिवक्ताहरूले व्यग्लै दुइटा सत्रहरूमा उद्यमशीलता विकास–चक्र, नवीन सोच, नव–प्रवर्तन र त्यसका लागि आवश्यक वित्तीय व्यवस्थापनका विषयमा व्यापक छलफल गरी निष्कर्षमा पुग्ने बाटो पहिचान गर्ने प्रयास हुनेछ भने नेपालमा उद्यम गरी सम्मानित स्थानमा पुग्न सफल ६ जना उद्यमीबाट आफ्ना अनुभव तथा सफलता हासिल गर्ने उपायहरूका विषयमा समेत चर्चा हुनेछ ।
सम्मेलनको समापन सत्रलाई पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने भएका छन् । सो सम्मेलनमा नेपाल सरकारका सम्बन्धित क्षेत्रका पदाधिकारीहरू, साना, मझौला तथा ठूला उद्योगहरूमा संलग्न वा संलग्न हुन चाहने उद्यमी÷व्यवसायी, स्वदेशी एवं विदेशी उद्यमीहरू, नव–प्रवर्तन, नयाँप्रविधि र उद्यमशीलताको प्रवद्र्धनमा संलग्न महिला तथा युवा उद्यमीहरू तथा नेपालका ७ वटै प्रदेशका उद्यमीहरू गरी करिब ४ सय जना यस सम्मेलनमा उपस्थित हुने निश्चित भइसकेको जनाइएको छ ।
उक्त सम्मेलनको मुख्य प्रायोजन नविल बैंक लिमिटेडले गरेको र अन्य सहयोग गर्ने संस्थाहरूमा देउराली जनता फर्मासीटिकल्स प्रालि, होंशि–शिभमसिमेन्ट प्रालि, शिखर इन्स्योरेन्स लिमिटेड, डिसहोम मिडिया नेटवर्क, चन्द्रागिरी हिल्स, शंकर ग्रुप तथा हिलटेक इन्डस्ट्रिज प्रालि छन् ।