कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
431

टाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा अत्याधुनिक बसपार्क निर्माण गर्न स्थानीयले निःशुल्क जग्गा दिएका छन् ।
अत्याधुनिक बसपार्क निर्माणका लागि आर्थिक वर्ष २०७५/०७६ मा सहरी विकास तथा भवन निर्माण विभाग काठमाडौंबाट ३ करोड बजेट स्वीकृत भए लगत्तै हलेसी तुवाचुङ नगरपालिकाले आवश्यक जग्गा निःशुल्क जुटाउनका लागि पहल थालेको केही समयमै स्थानीयले बसपार्क निर्माणका लागि ८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानमा बसपार्क निर्माणका लागि स्थानीय प्रकाशचन्द्र गिरीले ३ रोपनी ८ आना, प्रेमकुमारी गिरीले २ रोपनी, जितबहादुर वस्नेतले २ रोपनी, थीरकुमार बस्नेतले ४ आना र तीर्थकुमार बस्नेतले ४ आना गरि प्रतिरोपनी ४० लाख पर्ने जग्गानगरपालिकालाई जिल्ला मालपोत कार्यालय दिक्तेलमा आएर पास गरिदिएको नगरपालिकाका खरिदार ज्ञानदिप कार्कीले जानकारी दिए ।
दर्शनार्थीको बाक्लो भीड लाग्ने त्रिधार्मिकस्थल हलेसीमा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि सहरी विकास मन्त्रालयले बजेट स्वीकृत गरेर कार्यान्वयनका लागि विभाग संघीय आयोजना कार्यान्वयन एकाइ विराटनगरलाई पठाएको छ । नगरपालिकाको पहलमा बसपार्क निर्माणका लागि बजेट विनियोजन भएपछि हलेसीमा सवारी साधन पार्किङ स्थलको समस्या हल हुनेमा जिल्लावासी आशावादी देखिएका छन् ।
सुविधासम्पन्न तथा अत्याधुनिक बसपार्कमा भवन, आवास, यात्रु प्रतीक्षालय, शौचालय, धारा, बावरुम, डिजिटल लाइट, पार्किङको व्यवस्था, प्रविधि सम्पन्न टिकट काउन्टर व्यवस्थापन, यात्रुलाई गाडी चढ्न तथा टिकट काट्नका लागि भरपर्दो व्यवस्था, बसपार्कभित्रै टर्मिनल भवन, सपिङ बिल्डिङ, चमेनागृह, पक्की पार्किङ क्षेत्र, सोधपुछ कक्ष, मजदुर, कर्मचारी बस्ने कोठालगायतको व्यवस्थापन गरिने नगर प्रमुख इवन राईले जानकारी दिए । उनले भने, “नगरपालिकाको नाममा जग्गा आइसकेकाले अव संघीय योजना कार्यान्वयन एकाइ विराटनगरबाट डिजाइन स्टिमेट तयार गरी तत्काल टेन्डर आह्वान गरेर काम अगाडि बढाउँछौं, अत्याधुनिक बसपार्क निर्माण गर्न डिजाइन स्टिमेटका आधारमा बढी रकम लाग्ने भएको खण्डमा आवश्यक रकमको व्यवस्था पनि मन्त्रालयलाई गर्न लगाउँछु ।”
सवारीसाधन जिल्ला भित्रने मुख्य नाकाका रूपमा रहेको हलेसीमा अत्याधुनिक सूविधा सम्पन्न बसपार्क निर्माण गर्दै आकर्षक र समुन्नत बनाउनका लागि नगरको ध्यान केन्द्रित भएको पाइएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गतको सडक खण्डमा पर्ने त्रिधार्मिक संगम स्थल हलेसी मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा जिल्लामा आउने जाने यात्रुहरूको सवारी चापलाई मध्यनजर गर्दै नगरले अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको विकल्प खोजेको हो ।
सदरमुकाम दिक्तेलसँगै जिल्ला भित्रने सावरीसाधनको मुख्य नाका हलेसीमा सवारीसाधनको दैनिक बाक्लो चाप रहने गरेको छ । हलेसीमा हाल नगरपालिकाले भाडामा जग्गा लिएर बसपार्कको व्यवस्था गरेको छ ।
ट्राफिक जाम र यत्रतत्र सवारीसाधन पार्किङको समस्यालाई हल गर्नका लागि नगरले भाडामा जग्गा लिएर हाल बसपार्कको व्यवस्था गरिरहेको छ । अत्याधुनिक बसपार्क निर्माणका लागि नगर प्रमुख राईले आफैं काठमाडौं गएर पहल गरेका थिए ।