कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५
601

बुटवलमा दसैं सस्तो बजार
रुपन्देही-नेपाल उद्योग वाणिज्य संघ बुटवलले दसैं पर्वलाई लक्षित गरी उपभोक्तालाई चिनी प्रतिकिलो ५८ रुपैयाँमा उपलब्ध गराउन थालेको छ । मंगलबारदेखि बुटवलस्थित बाल मन्दिरमा सञ्चालन गरिएको दसैं सस्तो बजारमा संघले चिनी प्रतिकिलो ५८ रुपैयाँमा उपलब्ध गराउन थालेको हो । उपभोक्तालाई सर्वसुलभ खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले सस्तो बजार सञ्चालन गरिएको हो ।

“बजारमा भन्दा दसैं सस्तो बजारमा खाद्य सामग्री निकै सहुलित दरमा बिक्री भइरहेको छ,” उद्योग वाणिज्य संघ बुटवलका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुले भने, “बजारमा चिनी ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ, तर हामीले उपभोक्तालाई ५८ रुपैयाँमा उपलब्ध गराएका छौं ।” खरिद मूल्य ६२ रुपैयाँबाट ४ रुपैयाँ घटाएर ५८ रुपैयाँमा उपभोक्तालाई बिक्री गरिएको उनले बताए ।
व्यावसायिक हक हितका लागि मात्र काम नगरी संघले उपभोक्तालाई समेत मध्यनजर गर्दै चाडपर्वका बेलामा केही सहुलियतमा खाद्य वस्तु उपलब्ध गराउनुपर्छ भन्ने मान्यता राख्दै चिनी मात्र नभई २ दर्जन बढी खाद्य वस्तु तथा तेलजन्य वस्तुमा २५ प्रतिशतसम्म छुटमा उपलब्ध गराइएको कसजुले बताए ।
संघले सञ्चालनमा ल्याएको सस्तो बजारमा डिडिसीको घ्युमा १ सय रुपैयाँ बजारमा भन्दा सस्तोमा बिक्री भइरहेको छ । त्यसैगरी तोरीको तेल, सोयाबिनको तेल, आँटा, मैदा, चिउरा, चामल, चियापत्ती, माछा, अन्डालगायतका सामग्री पनि सस्तोमा बिक्री भइरहेको छ ।
चार दिनसम्म सञ्चालन हुने दसैं सस्तो बजारमा उपभोक्ताको उल्लेख्य उपस्थिति देखिएको छ । दसैं सस्तो बजारमा बुटवल उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायी तथा प्रतिष्ठानहरूले न्यून मुनाफा राखेर खाद्यवस्तुलगायतका सामान उपलब्ध गराएका हुन् ।
सस्तो बजारमा नयाँ नोटसमेत सटही व्यवस्था गरिएको छ । प्रतिदिन ३ सय जनालाई ५ हजार रुपैयाँसम्मको नयाँ नोट सटही व्यवस्था गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर कार्कीले बताए । दुई दिनमा ६ हजार बढी उपभोक्ताले दसैं सस्तो बजारबाट वस्तु तथा सामग्री खरिद गरेको संघले जनाएको छ ।