कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५
281

आगामी असोज ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जेम फ्लोरिङको प्रस्तुतिमा फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स–२०१८’ को तयारी अन्तिम अवस्थामा पुगेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोमा प्रतिष्ठित स्वदेशी तथा विदेशी ब्रान्डका सय भन्दा बढी कम्पनी रहने जानकारी दिएको हो ।
एक्स्पोमा ख्यातिप्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्रान्डका फर्निचरहरूको बृहत् प्रदर्शनी हुनेछ । उक्त अवसरमा नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दसैं अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरू बिक्री वितरणसमेत हुने एक्स्पो सञ्चालन हुने आयोजकको भनाइ छ ।

एक्स्पोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरूलाई लक्की ड्र मार्फत आकर्षक उपहारसमेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इन्टेरियर डिजाइनसम्बन्धी परामर्शसमेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्स्पोको अर्को आकर्षण हुने आयोजकले जानकारी गराएको छ । विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने इभेन्ट सोलुसनले जनाएको छ ।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छन् । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।
मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालले बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटोमा रहेको जानकारी गराए ।
असोज ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सन् २०१२ देखि नियमित रूपमा एक्स्पो आयोजना हुँदै आएको छ ।