कारोबार संवाददाता
बिहिवार, असार ७, २०७५
657

तेह्रथुम-जिल्लाको आठराई गाउँपालिकाको ह्वाकुका महिलाहरूले कृषि पेसामा आधुनिकीकरण गर्दै व्यावसायिक बनेर आयआर्जन गर्ने ध्येयले महिला सहकारी संस्था खोलेका छन् । महिलाहरूकै नेतृत्व र सेयर लगानीमा खोलिएको ‘जालपादेवी महिला कृषि सहकारी संस्था’ को स्थापना गरेका हुन् । सहकारीले स्थापनासँगै बचत, ऋण लगानी तथा असुलीको कारोबार गर्दै आएको छ ।
तत्कालीन ह्वाकु गाविसका नौवटै वडाका विभिन्न १० वटा आमा समूहमा आबद्ध १ सय २५ जना महिलाले सेयर लगानी गरी सहकारी स्थापना गरेको अध्यक्ष बलमाया गुरुङले बताइन् । सहकारीमा आबद्ध सेयर सदस्य महिलाहरूले न्यूनतम १० देखि २० कित्तासम्म सेयर लगानी गरेका छन् । सुरुवातमा सहकारीको कुल पुँजी ५ लाख बढी रहेको सचिव मेनुका ओलीले जानकारी दिइन् । सहकारीले महिला हरूलाई आधुनिक र व्यावसायिक कृषिमा लाग्न प्रेरित गर्दै सोही क्षेत्रमा लगानी गर्दै आएको सहकारीले जनाएको छ ।

सहकारी खुलेपछि आर्थिक कारोबार गर्न सजिलो हुने भन्दै स्थानीय महिलाहरू हर्षित छन् । ‘सहकारीबारे सुनेका मात्रै थियौं, अध्यक्ष गुरुङले भनिन् ।, “अहिले आफ्नै नेतृत्वमा सहकारी स्थापना गरेर काम गर्न पाउँदा खुसी छौं ।” तर, सहकारी सञ्चालनबारे आफुहरूलाई उल्लेख्य ज्ञान नभएकाले त्यसबारे तालिम, गोष्ठीको उनको माग छ ।
साना–साना महिला समूहमा बचत गर्ने र लगानी असुलीको कारोबार गरी व्यवहार चलाउँदै आएका महिलाहरू सहकारीबाट ठूलो बचत र ऋणका गतिविधिमा संलग्न भएर व्यावसायिक कृषिमा लगानी गर्न पाउने भएपछि जीविकोपार्जन सुध्रिनेमा आशावादी छन् । ‘समूहमा बचत गरिन्थ्यो, तर सानो रकमबाट गर्जो टार्न गाह्रो हुन्थ्यो, सचिव मेनुका ओलीले भनिन्, “अब सहकारीले हाम्रा आवश्वकताभन्दा पनि व्यवहार चलाउन सहज हुने आशा छ ।” ग्रामीण भेगका महिलाहरूको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेको जिल्लाको ‘देउराली सोसाइटी’ नामक गैरसरकारी संस्थाले महिलाहरूलाई सहकारी संस्थातर्फ प्रवद्र्धन गरेको हो ।