कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
448

एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाले फिल्डमा काम गर्ने नयाँ परीक्षार्थीहरूको लघुवित्त र त्यसका आधारभूत पक्षका बारेमा ज्ञान दिलाउने उद्देश्यले एक दिने फिल्ड अवधारणासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना ग¥यो । उक्त गोष्ठीको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत चौधरीले लघुवित्तले विपन्न, गरिब तथा पछाडि परेका वर्ग, समुदायमा काम गर्ने भएकाले यस क्षेत्रले आर्थिक विकासको साथसाथै सामुदायिक विकासका लागि पनि कार्य गर्दै आएको कुरा व्यक्त गरे । लघुवित्तले फिल्डमा गई आफ्ना ग्राहक सदस्यको घरदैलोमा नै सेवा दिने भएकाले कर्मचारीहरूले अन्तरात्मादेखि नै प्रतिबद्ध हुनुपर्ने धारणा प्रस्तुत गरे । संस्था स्थापनाको ५ वर्षको छोटो अवधिमा १० जिल्लामा कार्यक्षेत्र राखी सुरुवात गरेको संस्थाले हाल राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नति भई ७५ वटा शाखा कार्यालयको स्थापना गरी करिब ८० हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा उपलब्ध गराउन सफल रहेका जानकारी गराए ।

एक दिने उक्त अभिमुखीकण तालिममा लघुवित्तको परिचय, नेपालमा लघुवित्तको वर्तमान अवस्था, एनएमबि माइक्रो फाइनान्स वित्तीय संस्थाको परिचय, संस्थाको उद्देश्य, कार्यक्षेत्र तथा लघुवित्त कार्यक्रमको काम गर्ने तौरतरिका बारेमा सहभागीहरूलाई स्पष्ट पारियो ।
तालिममा पूर्व–मेचीदेखि पश्चिम महाकालीसम्मका १ सय ३५ जना सहभागीको साथै वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृतलगायत विभागीय प्रमुखहरूको उपस्थिति थियो ।
विभागीय प्रमुख विष्णुप्रसाद शर्माले सञ्चालन गरेको उक्त तालिममा वित्तीय संस्थाको विभागीय प्रमुख डम्बरबहादुर श्रेष्ठले वित्तीय संस्थाको परिचयको साथै तालिमको औचित्यमाथि प्रकाश पारेका थिए ।