कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५
510

आशा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर ०७५ माघ २५ गते शुक्रबार बाँडफाँड गरिएको छ । प्रभु क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सय रुपैयाँ अंकित दरका ६ लाख ७४ हजार कित्तासाधारण सेयरहरूमध्ये १० हजार ३ सय ७० कित्ता सेयर कर्मचारीहरूलाई र ३३ हजार ७ सय कित्ता सेयर सामूहिक लगानीकोषलाई बाँडफाँड गरी बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता साधारण सेयर सर्वसाधारणका निम्ति निष्कासन गरिएको थियो । माघ १८ देखि २२ गतेसम्म आवेदन आह्वान गरिएकोमा सो अवधिभित्र आवेदन दिने ३ लाख ९ हजार ७ सय ८२ आवेदकमध्ये ६ सय ७७ आवेदन रद्द भई रितपूर्वक आवेदन दिने आवेदकहरू ३ लाख ९ हजार १ सय ५ मध्येबाट ६२ हजार ९ हजार ९३ जना आवेदकहरूलाई एक कार्यक्रमबीच बाँडफाँडसम्बन्धी प्रचलित कानुनबमोजिम शुक्रबार १० कित्ताका दरले बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले वित्तीय संस्थालाई विश्वास गरी यति ठूलो संख्यामा आवेदकहरूले सेयर खरिद गर्ने चाहना व्यक्त गर्नु संस्थाका लागि गर्वको विषय रहेको तथा सोअनुरूप सेयरधनीहरूलाई प्रतिफल दिनका लागि संस्था सदैव कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे ।