कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५
323

जनकपुर- सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्रान्डको तीनचक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा जनकपुरमा रहेको अशोक ट्रेडर्स र महागणपति अटो सेल्स प्रालिसँग सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल, अशोक ट्रेडर्सको तर्फबाट प्रोपाइटर आशिष शाह र माहागणपति अटो सेल्स प्रालि प्रोपाइटर दीपेन्द्रकुमार दासले हस्ताक्षर गरेका थिए ।
यो सम्झौताअनुसार अशोक ट्रेडर्स र माहागणपति अटो सेल्स प्रालिले विक्री गर्ने तीनचक्के टेम्पु (सवारी साधान) लाई उक्त ट्रेडर्सले सिफारिस गरे अनुसार बैंकले रित पुराई कर्जा लगानी गर्नेछ । बैंकले उक्त तीनचक्के टेम्पोको मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । तर, कर्जाको लागि ग्राहकहरुले घर जग्गासमेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने सो सम्झौतामा उल्लेख छ । कर्जा अवधि तीन वर्षसम्म मात्र रहनेछ । लगानीपश्चात् ऋणीबाट असुलीमा समस्या आएमा टेम्पो विक्रेता संस्था अशोक ट्रेडर्स र महागणपति अटो सेल्स प्रालिसमेतले सघाउनु पर्ने भएको छ ।
सो कर्जाका लागि अशोक ट्रेडर्सले फिर्ता खरिद जमानीको लिखत गरिदिनुपर्नेछ । जमानत स्वरूप १ लाख रुपैयाँको चल्ती खाता खोली जम्मा गर्नुपर्नेछ । सो रकम बैंकले जमानत स्वरूप रोक्का राख्न पाउने सम्झौतामा उल्लेख छ । यदि कुनै सम्बन्धित ऋणीले समयमा तिर्नुपर्ने किस्ता समयमा नतिरेमा सोही रकमबाट असुल गर्न सकिनेसमेत सम्झौता भएको छ । कर्जा स्वीकृत भई आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र बैंकले सम्बन्धित ग्राहकलाई सवारी साधन उपलब्ध गराउन बैंकले अशोक ट्रेडर्सलाई आदेश दिनेछ । सो सवारी साधन बैंकको नाममा सम्बन्धित ग्राहकलाई ऋणी जनाई नामसारी भई आएमा र सो सवारी साधनको बिमा भएको बिमापत्र, ब्लुबुक बैंकलाई बुझाएपछि अशोक ट्रेडर्सलाई भुक्तानी गरिदिनेछ ।